अमरज्योति प्राविधिक माध्यमिक विद्यालय
तादी ३ नुवाकोट
कक्षाः १२ पूर्णाङ्कः ७५
विषयः अनिवार्य नेपाली (NEP. 002) समयः ३ घण्टा
विद्यार्थीले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्ने छ ।
१. तलका शब्दको अक्षर संरचना र अक्षर संख्या देखाउनुहोस् : (३)
घर, मनोविज्ञान, विज्ञान
२. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : (३)
हामरा इन्दिरिय हरुले अनूभब गरेका सवै कुरा सही नै हुनछन भन्ने कहाँ छ र ? शरीरको भोजन अन्न पानि भए झैँ आत्माको भोजन ज्ञान हो ।
३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (२)
(क) दिइएका अंशबाट एकओटा पारिभाषिक शब्द र एकओटा अनुकरणात्मक शब्द पहिचान गरी वाक्यमा प्रयोग
गर्नुहोस् :
मनिष आफ्नो कार्यकक्षबाट फटाफट काम सकेर घरतिर लाग्यो तर बाटामा झमझम पानी परिरहेको थियो ।
(ख) दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
गाउँमा एक्कासि महाविपत्ति पर्यो। यस्तो वेला पनि तमासा हेर्ने र कानमा तेल हालेर बस्नेको कमी भएन । तीमध्ये केहीले भने आफ्नो गाँस काटेर भए पनि बचाए । यो कुरा एक कान दुई कान मैदान भइ सबैतिर फैलियो । छिमेकी, इष्टमित्र सबैको सहयोगले एकले थुकी सुकी सयले थुकी नदी भने झैँ हुँदै गयो । आफू भलो त जगत् भलो भन्ने भनाइलाई अन्ततः सहयोगी मनले चरितार्थ गरेरै छाडे ।
४. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गर्नुहोस् : (३)
जिन्दगीमा पिरबाहेक सुख कहाँ देख्न पाउँछु र ! सहारा, सुरक्षा र माया गुमाएकी मान्छेको अनुहार कसरी उज्यालिन सक्छ र ? छोराछोरी साना छन्। आफैँ सोच्नुस्, यत्रो लामो जिन्दगी लिएर म कसरी बाचूँ ? यी विषय सोच्दा मलाई पट्यार लाग्छ’’ सुस्केरा हाल्दै मैले भनेँ ।
५. तलको अनुच्छेदबाट दुईओटा तत्सम शब्द र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :(२)
अक्षता हेरे झैँ टपरीका फाइल हेर्दै हार्डडिस्कमा राख्दै गर्न थाल्यो एन्टिभाइरस गोर्खे । आधाजति पुर्याएपछि राक्षस जस्तो घिनलाग्दो देखिने भाइरस भेट्यो । ती भाइरसले लगभग चार सय फाइलमा सङ्क्रमण गरेका थिए । थुप्रै फाइल मर्मत भए, मर्मत हुन नसकेकालाई एन्टिभाइरस गोर्खेले डिलिट गर्ने सुझाव दियो ।
६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (३)
(क) तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न शब्द र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको
निर्माण प्रक्रिया देखाउनुहोस् :
ग्रामीण भेगको तुलनामा सहरिया मानिस विलासी हुन्छन्। सधैँ परिश्रम गरेर बाँच्ने गाउँले जीवन कर्तव्यले भरिएको
हुन्छ । सादा आचरण भएका उनीहरू सबैमा सहभाव राख्छन्।
(ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व
शब्दको दोहोरिएको अंश देखाउनुहोस् :
कोभिडका कारण बन्दाबन्दीको समयमा घरबाहिर ननिस्कन निषेधाज्ञा जारी गरे तापनि आआफ्ना सुरमा सहरबजारका ठिटाठिटी ओहोरदोहोर गरिरहेका देखिन्थे । विश्व नै रोगग्रस्त भएका वेला यसरी बेकाममा लुखुरलुखुर गरी गल्लीडुलुवा भई हिँड्नु राम्रो होइन ।
७. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :(४)
(क) ले, लाई, बाट, द्वारा, देखि, को, नो, मा विभक्ति लागेका भिन्न भिन्न कारकको प्रयोग गरी चार वाक्यमा कुनै घटनाको वर्णन गर्नुहोस् ।
(ख) सामान्य आदरमा रूपान्तरण गरी पुनर्लेखन गर्नुहोस् :
तपाईँ आज पनि कतै जानुहुन्छ कि ? अहिलेको समयमा यसरी बाहिरतिर घुम्न ननिस्कनुहोस्। घरभित्रै बसेर व्यायाम
गर्नुहोस्। बरु किताब पढ्नुहोस्, कथा लेख्नुहोस्।
८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) तलका दिइएका वाक्यको वाच्य परिवर्तन गर्नुहोस् :
यसपालि जाडो बिदामा पोखरा घुम्न जान्छौँ । पोखराको लेकसाइडको रिसोर्टमा बस्छौँ । बेगनास र फेवातालमा डुङ्गा
पनि चढ्छौँ । तीन दिनको बसाइपछि आआफ्नो घर फर्कन्छौँ ।
(ख) इच्छार्थक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको कार्य सफलताको वर्णन गर्नुहोस् ।
९. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) तलका चारओटा जटिल वाक्यलाई आठओटा सरल वाक्यमा विश्लेषण गर्नुहोस् :
युवा कामको खोजमा विदेश गए तर उनीहरूले सोचे जस्तो काम पाएनन् । जीवन सुधारका लागि धेरै प्रयास गरे तापनि समस्या जिउँका तिउँ नै रह्यो । जब राष्ट्रले त्यो समस्या थाहा पायो तब युवालाई विदेशबाट झिकाई स्वरोजगारी बनायो । विदेश जानेको सङ्ख्यामा उल्लेख्य कमी आयो अनि विदेश जानेको आकर्षण घट्यो ।
(ख) तलका वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्:
छोराले भन्यो, “आमा, बहिनी कति वर्षकी भई ?”
आमा, “तीन वर्षकी भई ।”
छोरा, “अब उसलाई कहिले विद्यालय पठाउने ?”
आमा, “तिमीले वेलैमा सम्झायौ, यसै वर्षदेखि पठाउने ।”
१०. दिइएको अनुच्छेद पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् : (५ × १=५)
संसारको सृष्टि कहिले भयो ? कसरी भयो ? केबाट भयो ? सृष्टि हुनुभन्दा अघि के थियो ? आदि प्रश्न प्रायः सबै व्यक्तिका लागि जिज्ञासाका विषय हुन् । यसैले सृष्टिसम्बन्धी विभिन्न दृष्टिकोण प्रस्तुत हुनु स्वाभाविकै हो । सृष्टिसम्बन्धी प्रस्तुत भएका विभिन्न दृष्टिकोणमध्ये पूर्वीय वाङ्मयका वैदिक ग्रन्थ र आधुनिक भौतिक शास्त्रीको सृष्टिसम्बन्धी दृष्टिकोण निकै मिल्दोजुल्दो देखिन्छ । आधुनिक भौतिक शास्त्रीले ब्रह्माण्डको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै बिन्दुबाट भएको र त्यसको अन्त्य पनि त्यस्तै बिन्दुमा हुने बताएका छन्। उनीहरूले सर्वाधिक घनत्वमा रहेको त्यस बिन्दुलाई ब्ल्याकहोल भनेका छन्। भौतिक शास्त्री आइन्स्टाइनले ब्ल्याकहोलको अधिकतम गुरुत्व शक्तिका कारण त्यसभित्र छिरेको प्रकाशसमेत बाहिर ननिस्कने र त्यसले सबै चिज आफूमा समाहित गर्ने भएकाले त्यसको भार बढ्छ भन्ने धारणा राखेका थिए । पछि हकिङले अधिक गुरुत्व शक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक चिज खुम्चिएर खाँदिएर रहेका हुने र अझ खुम्चँदै जाँदा त्यसबाट विकिरण उत्सर्जन हुने र बिस्तारै ब्ल्याक होल नष्ट हुने बताए । रेडियसन उत्सर्जन नगर्दा चाहिँ महाविस्फोटन भएर त्यसबाट नयाँ ब्रह्माण्डको सृष्टि पनि हुन सक्ने विचार व्यक्त गरे । भौतिक शास्त्रीको यो मान्यता ऋग्वेदको सृष्टिसम्बन्धी दृष्टिसँग मिल्दोजुल्दो देखिन्छ । ऋग्वेदमा सृष्टिपूर्व अन्धकारबाट ढाकिएको सघन अन्धकार थियो । त्यसभित्र आफ्नो शक्तिपुञ्जबाट निर्मित एक अत्यन्त ऊर्जाशील तत्त्व थियो । यही तत्त्वबाट चारैतिर फैलिएको किरण नै पदार्थमा परिणत भई संसारको सृष्टि भयो’ भनिएको छ ।
ऋग्वेदमा भनिएको अन्धकारबाट ढाकिएको ऊर्जाशील तत्त्व भौतिक शास्त्रीले भनेको सर्वाधिक घनत्वको अवस्थामा रहेको बिन्दुसँग मिल्दछ ।ऋग्वेदमा उल्लेख गरिएको यही गतिशील र उर्जाशील तत्त्वलाई वेदान्त दर्शनले निर्गुण, निराकार ब्रह्म भनेको छ । वेदान्त दर्शनमा माकुराले आफ्नो सानो शरीरबाट ठुलो जालो बुनेर पुनः आफूमा विलीन गर्न सके झैँ निर्गुण, निराकार र ऊर्जापुञ्जका रूपमा रहेको ब्रह्म नै चारैतिर फैलिएको किरणका माध्यमबाट जीवन जग रूपमा परिणत हुन्छ । प्रलयकालमा ब्रह्मले नै सङ्कुचनका माध्यमबाट सम्पूर्ण जीवन जगतलाई पुनः आफूमै समाहित गर्छ भनिएको छ । यसैले वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको कारकका रूपमा ब्रह्मलाई लिइएको छ । भौतिक शास्त्रीले पनि ब्ल्याकहोलमा रहेका उर्जाशील क्वान्टम पुञ्जको विस्फोटन हुँदा ब्रह्माण्ड बन्ने र सङ्कुचन भएपछि पुनः क्वान्टम पुञ्जमा परिणत हुने बताएकाले भौतिकवादीले मानेको क्वान्टम पुञ्ज र वेदान्त दर्शनले स्विकारेको ब्रह्मबिच निकै समानता रहेको देखिन्छ । वेदान्त दर्शनमा जीवनजगतकाे सृष्टि, स्थिति र प्रलयको एकीकृत व्याख्या गर्ने ।।।ब्रह्मसूत्र’ रहेजस्तै भौतिक शास्त्री हकिङ पनि ब्रह्माण्डको उत्पत्ति, संरचना र प्रलयको एकीकृत व्याख्या गर्ने सिद्धान्त बनाउने प्रयत्नमा थिए । उनी यसमा सफल हुन सकेनन्। उनले उत्तरवर्ती अनुसन्धाताका लागि मार्गचित्र भने कोरिदिएका छन्।
प्रश्नहरू :
(क) आधुनिक भौतिक शास्त्रीले ब्रह्माण्डको सृष्टि कसरी भएको बताएका छन्?
(ख) केलाई वेदमा सृष्टिको कारक मानिएको छ ?
(ग) ब्रह्म र क्वान्टम पुञ्जका बिच कस्तो समानता रहेको छ ?
(घ) वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको एकीकृत व्याख्या कुन ग्रन्थले गरेको छ ?
(ङ) आइन्स्टाइनले ब्ल्याकहोलसम्बन्धी कस्ता धारणा अगाडि सारेका छन्?
११. दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् : (२+३=५)
सहकारीको उपादेयता समाजका हरेक क्षेत्रमा उत्तिकै भए पनि आर्थिक समृद्धि र विकासमा यसको महत्त्व निकै विशिष्ट रहेको छ । विकासको मुख्य आधार आर्थिक समृद्धि हो । विकासका लागि आवश्यक आर्थिक समृद्धिमा सहकारीको भूमिका अपरिहार्य ठानेर नै संसारका अविकसित, विकासोन्मुख र विकसित सबै देशले सहकारीको स्थापना र सञ्चालन गरिरेहका छन्। धेरै देशले सहकारीका माध्यमबाट आर्थिक समृद्धि हासिल गरिसकेका छन्। संयुक्त राष्ट्र सङ्घले पनि सहकारीलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारस्तम्भ स्वीकार गर्दै सबै देशलाई यसका माध्यमबाट आफ्नो देशको विकास गर्न सकिने भएकाले यसको अनुसरण गर्न सुझाव दिएको छ ।
१२. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (४)
(क) स्थानीय स्वास्थ्य केन्द्रले सर्वसाधारण जनतालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन जारी गर्ने सार्वजनिक सूचनाको नमुना तयार पार्नुहोस्।
(ख) कामना एन्ड सन्स ट्रान्सपोर्ट कम्पनी’ ले काठमाडौँ स्थित किरण वस्त्र भण्डार’ लाई सामान बुझाई रु. १०००० भुक्तानी लिए वापत गरिदिएको भरपाईको नमुना तयार पार्नुहोस्।
१३. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (५)
(क) नेपालका कुनै एक कविको स्मृतिमा आयोजित कवि गोष्ठीको विवरण समेटेर १५० शब्दसम्मको प्रतिवेदन
तयार पार्नुहोस्।
(ख) नेपालको कृषि प्रणालीमा सुधारको आवश्यकता’ शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।
१४. कुनै एकको व्याख्या गर्नुहोस् : (४)
(क) हो, त्यो आउँछ
त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ ।
(ख) नारी प्रेम र सब्घर्षका प्रतिमूर्ति हुन्।
१५. कुनै दुई प्रश्नको उत्तर लेख्नुहोस् : (४)
(क) तलको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
मर्नैपर्छ भने पनि पर पुगी मरौँ
नझुक्ने यो हिमालमा किन झुकी मरौँ
जति चढ्यो उति बाँकी हिमचुली शिखर
नदेखेको कुरा हेर्ने हामीलाई रहर ।
प्रश्नहरू :
(अ) माथिको कवितांशमा नेपालीको कस्तो मानसिकताको चित्रण गरिएको छ ।
(आ) नेपालीले हिमचुलीबाट कस्तो प्रेरणा प्राप्त गरेका छन्, माथिको कवितांशका आधारमा व्याख्या गर्नुहोस्।
(ख) तलको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
आजको युग प्रतिस्पर्धाको युग हो, एकाधिकारको होइन । हामीले राम्रा र उपयोगी वस्तुको उत्पादन गर्न सक्यौँ भने बजारको समस्या हुँदैन । विश्वव्यापीकरणको आजको युगमा नेपाली संसारभर छरिएर रहेका छन्। विश्वको जुनसुकै कुनामा पुगे पनि नेपालीले आफ्नो मौलिकता र पहिचानलाई भुलेका छैनन्। उनीहरू उपलब्ध भएसम्म आफ्ना मौलिक वस्तुको उपभोग गर्न रुचाउँछन्। आज विश्वभर कृत्रिम र विषादीयुक्त खानपानका कारण अनेक रोग निम्तिएका छन् । नेपाल जस्तो प्रकृतिको सुन्दर देशमा हामीले अर्गानिक तथा प्राकृतिक वस्तुको उत्पादन गर्न सक्यौँ भने हाम्रा उत्पादन संसारभर बिक्ने छन्। त्यसैले प्रतिस्पर्धी थपिँदैमा आत्तिनु पर्दैन । बजारको विस्तारसँगै कुनै एउटा उद्योगका उत्पादनले मात्र सबैको माग र आवश्यकता पूरा गर्दैन । कुनै एक क्षेत्रमा स्थापित उद्योगले सबैको चाहना र आवश्यकताको परिपूर्ति सम्भव छैन ।
प्रश्नहरू:
(अ) विश्वव्यापीकरणका फाइदा र बेफाइदा लेख्नुहोस्।
(आ) किन प्रतिस्पर्धी थपिँदैमा आत्तिनु पर्दैन भनिएको हो ?
१६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :४
(क) भौगोलिक अवस्था र सामाजिक परिवेशका दृष्टिले ।।।घनघस्याको उकालो काट्दा’ नियात्रा तपाईँलाई कस्तो लाग्यो , प्रतिक्रिया दिनुहोस् ।
(ख)मातृत्व’ कथाकी पात्र ममताले सुबोधलाई छोडेर बाँकी जीवन सन्तानसँग बिताउन गरेको निर्णय तपाईँलाई
कस्तो लाग्यो, आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
१७. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :(८)
(क) ‘मातृत्व’ कथामा नेपाली समाजको कस्तो अवस्थाको चित्रण गरिएको छ, वर्णन गर्नुहोस्।
(ख) स्टिफन विलियम हकिङले मानवीय चेतनालाई नयाँ उचाइमा पुर्याउन गरेको योगदानको समीक्षा गर्नुहोस्।
१८. कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : (८)
(क) वातावरण प्रदूषण आजको समस्या
(ख) नेपाली अर्थतन्त्रको अवस्था
(ग) साइबर अपराध र सुरक्षाका उपाय
शुभकामना
प्रश्नपत्र : २०८०(विषय कोड 001)
कक्षा : ११ समय : ३ घण्टा
अनिवार्य : नेपाली, पूर्णाङ्क : ७५
१.दिइएको अनुच्छेदका रेखाङ्कित वर्णहरूको उच्चारण स्थान र प्राणत्व छुट्याई लेख्नुहोस । (३)
आजको समाजमा धेरै मानिसहरु आफ्नो काममा मात्र चासो राख्छन् । कमै मानिसहरु अरुको काममा चासो राख्ने गर्छन् ।
२. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् (३)
हामि सवैलाई थाहा छ, नेपाल प्राकृतिक शम्पदाका दृष्टिले संसार कै धनी देश हो । जलस्रोतका दृष्टिले यो देश येसियाको सबैभन्दा सम्पन्न देश मानिन्छ ?
३. अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् । (२)
अहो !राम र श्याम यति बिहानै वनतिर लागेका हुन् र ?
४. दिइएका प्रश्नको उत्तर दिनुहोस् । (२+२=४)
(क) दिइएको अनुच्छेदबाट दुई दुईओटा तत्सम र आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् ।
विद्याले मानव चेतनाको स्तर वृद्धि गर्दछ । आजको मोर्डन र फेसनले चलेको युगमा पनि यसको महत्त्व घटेको छैन् ।
(ख) दिइएका शब्दहरूलाई शब्दकोशीय क्रममा मिलाई लेख्नुहोस् ।
सामल, शोषण, सामना, शेखर
५. दिइएको अनुच्छेदबाट तीनओटा पारिभाषिक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् । (३)
भाषा यादृच्छिक वाक्प्रतीकहरुको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्तिहरु आफ्नो विचारको विनिमय गर्दछन् । भाषा परिवर्तनशील हुने भएकाले यसको कुनै अन्तिम स्वरूप हुँदैन तर सबै भाषाको आआफ्नो मानक रूप भने हुन्छ ।
अथवा,
दिइएको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्।
कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं विद्यालयमा पढ्न आएको विद्यार्थी शिक्षकको आँखा छलेर धुइँधुइँती जुलुसतिर धाउँछ बा Ị यो के तरिका हो ?
६. कुनै दुई प्रश्नको उत्तर दिनुहोस । (२х२=४)
(क) अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय न्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् ।
समानताका नारा लगाएर मात्र वर्गीय विभेद हट्दैन । यसका लागि सामाजिक र राजनैतिक कुसंस्कारहरु जरैदेखि उखेलेर फाल्ने आँट युवाले गर्नु पर्दछ । अनि मात्र देश बन्न सक्दछ ।
(ख) अनुच्छेदबाट दुईओटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस् र दुईओटा द्वित्व शब्द पहिचान गरी दोहोरिएको अंश छुट्याउनुहोस् ।
बाआमाका सपना पुरा गर्न भनेर आआफ्नो कुम्लो बोकेर विदेश उडेका श्याम र पिताम्बर जस्ता युवाहरु घर न घाटका भएर खानासाना समेत नपाएर फर्केका तमाम उदाहरण छन् । यसरी अन्धाधुन्ध तरिकाले कामसाम भनेर देश त्याग्नु राम्रो कुरा होइन ।
(ग) अनुच्छेदबाट चारओटा सन्धियुक्त शब्द पहिचान गरी सन्धि विच्छेद गर्नुहोस् ।
सुरेन्द्रले सन्देशलाई पत्राचार गरी आफ्नो रोक्का भएको जमिन ठुल्यामालाई भनेर फुकुवा गर्न लगाइन् । तर जगन्नाथ ठुलाबाले नमानेपछि दाजु रमेश सुर्योदय कलेजबाट फर्की उनको अत्यावश्यक काम सम्पन्न गरे ।
७. दिइएका प्रश्नको उत्तर दिनुहोस् । (२+२=४)
(क) दिइएको अनुच्छेदका वाक्यहरूलाई आवश्यक सुधारसहित स्त्रीलिङ्गमा परिवर्तन गर्नुहोस् ।
ऊ नुवाकोटमा जन्मिएको हो । उसले त्यहाँ पाँच कक्षासम्म पढेको थियो । ऊ अहिले काठमाण्डौं बजारमा बसी ६ कक्षा पढ्दै छ । उसले कम्प्युटर विज्ञान विषय पढेको छ ।
(ख) दिइएको अनुच्छेदलाई एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् ।
विद्यार्थीहरू नुवाकोट दरवार घुम्न गएका थिए । त्यहाँ विदेशी पर्यटक पनि आएको रहेछ । उसले देवीघाट भन्दा त नुवाकोट दरवार राम्रो छ भन्यो । विद्यार्थीहरूले नुवाकोट दरवारको महत्त्व बुझे ।
८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।(४)
(क) तलका गद्यांशबाट दुईओटा उद्देश्य र विधेय तथा दुईओटा उद्देश्य विस्तार र विधेय विस्तार पद पहिचान गरी लेख्नुहोस् :
प्रतिभाशाली सुमन नियमित विद्यालय जान्छ । ऊ पढाइका साथै खेलकुदमा पनि रूचि राख्छ । हिजो गुरूले पुरस्कार पनि दिनुभयो । साथीहरूले पनि उसको तारिफ गरे ।
अथवा,
दिइएको अनुच्छेदलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस्स्
मेरो बुबा पहाडमा बस्छ । ऊ असल हुनुहुन्छ । त्यहाँबाट गणेश हिमालह हेर्न पाइन्छन् । तिमी पनि हिमाल हेर्न आएका हो ?
(ख) दिइएको वाक्यलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
तिमी विदेश जाने भए जाऊ। म त कहिल्यै जाँदिन । तिमी त यहाँ आउन चाहन्छौ । विदेशको दुःख मलाई थाहा छैन ।
अथवा,
तलका वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् ।
छोराले भन्यो, “आमा, बहिनी कति वर्षकी भई ।”
आमा, “तीन वर्षकी भई ।”
छोरा, “अब उसलाई कहिले विद्यालय पठाउने ।”
आमा, “तिमीले वेलैमा सम्झायौ, यसै वर्षदेखि पठाउने ।”
९.दुबै प्रश्नको उत्तर दिनुहोस ।(४+४=८)
(क) दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस ।
संस्कृतिभित्र कुनै जातजातिका लवाइखवाइ, वेशभूषा, भाषा, दर्शन, मान्यता र विश्वास लुकेका हुन्छन् । जातीय विविधताभित्र सांस्कृतिक विविधता हुन्छ । संस्कृतिको विशेषता जातीय पृथक्ता पनि हो । बहुजातीय मुलुकमा बहुसांस्कृतिक सम्पन्नता पाइन्छ अनि यसको समन्वय गर्ने मुलुक सौन्दर्यमा श्रेष्ठ ठहर्छ । जहाँ सुन्दर फूल फुल्छन्, त्यहाँ भमराहरू लट्ठिएर झुल्छन् । हाम्रो सांस्कृतिक उन्नयन सुमनकुञ्ज बन्न सके अभ्यागत मौरी र भमरा बनी झुम्मिन्छन् । हामी पराग र मधुरस बटुल्न सक्छौँ । मौरीको लगनशीलता सापटी लिएर मह जम्मा गर्न सक्छौँ । महको रस सुक्दैन । संस्कृति मधुरस हो, सभ्यता घार हो । हामी सुन्दर विश्वबागमा हृदयाकर्षक घार बनाउन सक्छौँ, हृदय केन्द्रमा सांस्कृतिक मधुरस जम्मा गर्न सक्छौँ ।
प्रश्नहरू :
(क) संस्कृतिभित्र के के लुकेका हुन्छन् ?
(ख) बहुजातीय मुलुकका के कस्ता विशेषता हुन्छन् ?
(ग) ‘संस्कृति मधुरस हो, सभ्यता घार हो’ भन्नाको तात्पर्य के हो ?
(घ) ‘पृथक्ता’ र ‘अभ्यागत’ को अर्थ लेख्नुहोस्
(ख) दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ।
जयपृथ्वीबहादुर सिंहको जन्म बझाङको चैनपुरमा वि.सं. १९३४ मा भएको थियो । बझाङ्गी राजा विक्रमबहादुर सिंह र रानी रुद्रकुमारी सिंहको सन्तानका रूपमा राजपरिवारमा जन्मेका जयपृथ्वीले आई.ए. सम्मको औपचारिक शिक्षा हासिल गरेका थिए।
जयपृथ्वीबहादुर सिंह बहुमुखी प्रतिभाका धनी व्यक्ति हुन् । सत्यवादी प्राथमिक पाठशाला खोली आफैँ शिक्षणमा खनिएका सिंहले ‘अक्षराङ्क शिक्षा,’ व्यवहारमाला,’ ‘स्रेस्ताबोध’, ‘शिक्षा दर्पण’, ‘प्राकृत व्याकरण’, ‘पदार्थ तत्त्व विवेक’, ‘भूगोल शिक्षा’ जस्ता दर्जनौँ पाठ्यपुस्तक लेखेका छन् । उनलाई नेपालका आधुनिक शिक्षाका जनक पनि भनिन्छ । नेपालको लामो इतिहास बोकेको गोरखापत्रका प्रधानसम्पादक र व्यवस्थापक भई पत्रकार, सम्पादक र व्यवस्थापनका रूपमा पनि चिनिएका छन् । त्यस्तै आफ्नो गाउँठाउँमा गोरेटो, घोडेटो, पुल बनाएर, हाट लगाएर, विभिन्न व्यक्तिलाई सिप सिक्न सहर पठाएर, पाठशाला खोलेर, सामाज सुधारका अनेक गतिविधिको नेतृत्व गरेका थिए । यसका अलावा संसारका सबै मानिस एउटै हुन् भन्ने मानवतावादी विचारका पक्षधर सिंहले युद्धभूमिमै गई घाइतेहरूको उपचारसमेत गरेका थिए । उनी कलकत्तामा रहँदा वकिल तथा नेपालका तर्फबाट कूटनीतिज्ञका रूपमा काम पनि गरेका थिए ।
निष्कर्षमा जयपृथ्वीबहादुर सिंह नेपाल आमाका त्यस्ता महान् सन्तती हुन्, जो एक्लैमा शिक्षासेवी, लेखक, व्याकरणकार, पत्रकार, सम्पादक, व्यवस्थापक, समाजसुधारक, मानवतावादी विचारक, वकिल तथा कूटनीतिज्ञका रूपमा भूमिका निर्वाह गर्न सफल भए ।
प्रश्नहरु :
क) जयपृथ्वीबहादुर सिंहको जन्म कति सालमा भएको थियो ?
अ वि.सं १९३४ आ) वि.सं १९३५
इ) वि.सं १८३४ ई) वि.सं २०३४
ख) जयपृथ्वीबहादुर सिंह कुन पत्रिकाका प्रधान सम्पादक बने ?
अ) गोरखा खवर कागज आ) कान्तिपुर
इ) गोरखापत्र ई) गोरखा संसार
ग) जयपृथ्वीबहादुर सिंहले कुन तहसम्मको औपचारिक अध्ययन गरे ?
अ) आइ.एड आ) आइ.कम
इ) बि.ए ई) आई.ए
घ) जयपृथ्वीबहादुर सिंहले स्थापना गरेको विद्यालय कुन हो ?
अ) प्रकृतिवादी पाठशाला आ) आदर्शवादी पाठशाला
इ) सत्यवादी पाठशाला ई) दरवार हाइ स्कुल
ङ) जयपृथ्वीबहादुर सिंहले कुन देशको कूटनीतिज्ञका रुपमा काम गरे ?
अ) चिन आ) पाकिस्तान
इ) अमेरिका ई) भारत
१०. अनुच्छेदबाट चार वटा बँदा टिपी एक तृतीयांशमा संक्षेपीकरण गर्नुहोस् । (२+२=४)
सामान्य रूपमा बुझ्दा मनको विज्ञानलाई मनोविज्ञान भनिए पनि आधुनिक मनोविज्ञानले मानिसको व्यवहारको अध्ययन गर्दछ । अनुहार हेरेर मनको कुरा थाहा पाउने मात्र होइन, व्यक्तिको व्यवहार र उसले गर्ने प्रतिक्रियाका आधारमा उसका बारेमा अवधारणा बनाउनु मनोविज्ञान हो । व्यक्ति वातावरणमा बस्दछ । व्यक्ति र वातावरणबिच सधैँ क्रियाप्रतिक्रिया चलिरहन्छ । व्यक्ति आफ्नो चाहनाको तृप्तिमा लागेको हुन्छ । उसको चाहनाअनुकूल वातावरण नहुन सक्छ । व्यक्ति भने जहिल्यै उसको चाहनाअनुसार वातावरणमा परिवर्तन ल्याउन खोज्छ । यस्तो वातावरण निर्माण गर्न व्यक्तिले देखाउने क्रिया व्यवहार हो । मनोविज्ञानले व्यक्तिले आफ्नो चाहनाअनुसारको वातावरण निर्माण गर्न के कस्ता प्रतिक्रिया जनाउँछ भन्ने कुराको अध्ययन गर्दछ । व्यक्तिको व्यवहारमा असर पर्ने वातावरण तीन किसिमका हुन्छन् । घर, खेत, पहाड, आवाज, गन्ध, जाडो, गर्मी, बाटोघाटो, हाटबजार आदि भौतिक वातावरण हुन् । परिवार, छिमेक, नीतिनियम, कानुन, पेसा, व्यवसाय, व्यक्ति व्यक्तिबिचको आपसी सम्बन्ध आदि सामाजिक वातावरण हुन् । व्यक्तिका आफ्नै कल्पना, भावना, चाहना, इच्छा, आकाङ्क्षा, कुण्ठा, संवेग आदि मानसिक वा आन्तरिक वातावरण हुन् । यी वातावरणले उत्तेजनाको काम गर्ने भएकाले मानिसले उसमा पर्ने प्रभावका आधारमा फरक फरक प्रतिक्रिया देखाउँछ । मनोविज्ञानले यी वातावरण र तज्जन्य परिस्थितिले उत्पन्न भएको मानिसको एकीकृत व्यवहारको सिलसिलाबद्ध रूपमा अध्ययन गर्दछ ।
११. कुनै एक प्रश्नको उत्तर दिनुहोस । (४)
(क) गाउँको विकासका लागि पर्यावरणमैत्री सडक आवश्यक छ भन्ने कुरा खुलाउँदै साथीलाई चिठी लेख्नुहोस् ।
(ख) छिमेकका कसैको मृत्यु हुँदा बनाउने श्रद्धाञ्जली तथा समवेदनाको नमुना बनाउनुहोस् ।
१२. “देश निर्माणमा युवाहरुको भूमिका” शीर्षकमा १५० शब्दसम्मको एउटा वक्तृता तयार पार्नुहोस् । (४)
१३. तीब्र रुपमा बढिरहेको वन डढेलोलाई कसरी नियन्त्रण गर्न सकिएला ? १२५ शब्दसम्ममा आफ्नो प्रतिक्रिया लेख्नुहोस् । (४)
१४. कुनै दुई प्रश्नको उत्तर लेख्नुहोस । (४х४=८)
(क) दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस ।
बल्ल सानीका आँखा उघ्रे । त्यसलाई आफ्नो अङ्गप्रत्यङ्ग कसो खुम्चिन लागेको छाला देखेर बितेको दीर्घ समयको सम्झना भयो र झन् प्रत्यक्षमा त्यसले देखी, यात्राको तीन चौथाइ पूरा भएपछि त्यसले पाइछ – आशा समाप्तिको साथसाथै जीवन सन्ध्या पनि आइपुगेको रहेछ । दुनियाँ अर्कै भएको रहेछ, यस वर्तमानसँग त्यस सानीमा कुनै प्रकारको सामञ्जस्य रहेनछ ! आशाले अझसम्म बुद्धिलाई धोखा दिइरहेको थियो, सानी शिथिल, क्लान्त झैँ हुन गई । उभिइरहनमा शरीर साह्रै नै गलेको जस्तो भान हुन लाग्यो र त्यसै द्वारमा थचक्क बसी ।
प्रश्नहरू :
(अ) सानीको प्रतीक्षा कसरी समाप्त भयो ?
(आ) यस अनुच्छेदमा सानीको कस्तो मनोविज्ञान प्रस्तुत भएको छ ?
(ख) तलको कवितांश पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र
वीर पुखा कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र
गरुडको झैं वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो
पौरखले रच्यौ नेपाल पहाड तराई जुट्न सक्यो ।
प्रश्नहरु :
(अ) नेपालीहरुको कस्तो पौरखले नेपालको रचना भएको हो ?
(आ) कवितांशका आधारमा हाम्रा वीर पुर्खाको गौरवगथाको वर्णन गर्नुहोस् ।
(ग) “उहाँले योग र ध्यानका सबै विधि सिकाउनुभयो र गर्न पनि लगाउनुभयो । आयुर्वेदिक औषधी पनि दिनुभयो ।” अमितले भने । “मनोचिकित्सकलाई पनि सोधियो, उहाँले त्यो पनि एउटा राम्रो पद्धति हो, आराम पनि हुन्छ भन्ने सल्लाह दिनुभयो । नभन्दै बिस्तारै मन शान्त हुन थाल्यो । मैले योगको विषय पनि बोध गर्दै गएँ । यसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान हुँदै समाधिसम्मको यात्रा गरिन्छ भन्ने पनि बुझेँ । यस बोधले त मेरा मनका विकार हट्दै गए र जीवनमा बाँच्ने इच्छाशक्ति जागृत भयो ।” सुन्दरले भने । “अनि त म झन् योग र ध्यान सिक्न थालेँ र प्रशिक्षक बनेँ । डाक्टर झा मेरा डाक्टर मात्रै नभएर गुरु पनि हुनुभयो ।”
प्रश्नहरू :
(क) सुन्दर छन्त्यालमा कसरी बाँच्ने इच्छाशक्ति जागृत भयो ?
(ख) योग साधनाले मानव स्वस्थ्यमा पार्ने प्रभावहरू के के हुन् ?
१५. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस । (८)
(क) क) ‘लौ आयो ताजा खबर’ लघुनाटकमा व्यक्त मुख्य सन्देशमाथि प्रकाश पार्नुहोस् ।
ख) नेपालको पर्यापर्यटनको विकासमा स्थानीय समुदाय तथा सरकारको भूमिका उल्लेख गर्नुहोस् ।
१६. तलका मध्ये कुनै एक शीर्षकमा २५० शब्द नघटाई वस्तुपरक निबन्ध लेख्नुहोस् । (८)
क) वातावरण प्रदूषण
ख) विश्व शान्ति स्थापनामा शक्तिराष्ट्रहरुको भूमिका
ग) वैदेशिक रोजगारीका सम्भावना र चुनौति
समाप्त
Please don't forget to give your valuable suggestions.