अनुसन्धान लेख रचना

 

  सिकाइ व्यवस्थापन पद्धति 

सिकाइ व्यवस्थापन पद्धति  एक परिचय

सिकाइ व्यवस्थापन पद्धति एक प्रकारको सिकाइलाई व्यवस्थापन गर्ने सफ्टवेयर हो । यसलाई अङ्ग्रेजीमा learning management system भनिन्छ । छाेटकरीमा यसलाई LMS समेत भनिन्छ । यो विद्यार्थी र शिक्षकको सिकाइकाे प्रक्रियालाई ध्यानमा राखेर निर्माण गरिएको सफ्टवेयर हो । यसमा सिकाइसित सम्बन्धित व्यवस्थापन पद्धतिलाई राखिएको छ । जसरी प्रशासनिक पाटोलाई व्यवस्थित बनाउनको लागि प्रशासनिक व्यवस्थापन पद्धति लागू गरिएको हुन्छ त्यसैगरी सिकाइलाई व्यवस्थित गर्नको लागि सिकाइ व्यवस्थापन पद्धतिको अवधारणा आएको हो । यो सिकाइको क्षेत्रमा देखापरेको नविन अवधारणा हो । जुन डिजिटल माध्यमसित प्रत्यक्ष सम्बन्धित रहेको छ । यो नितान्त वेबसाइटमुखी हुन्छ ।

सिकाइको यस पद्धतिले शिक्षणलाई जीवन्त राख्न र प्रभावकारी बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । यसमा इन्टरनेटको माध्यमबाट शिक्षक र विद्यार्थी प्रत्यक्ष रुपमा बसेर शिक्षण सिकाइलाई अगाडि बढाउन सक्दछन्  । यो प्रविधिले गर्दा विकास भएको सिकाइ क्षेत्रको नवीन व्यवस्थापकीय पद्धति हो । त्यसैगरी शिक्षकले तयार पारेका शैक्षिक नोटहरू पनि यसको माध्यमबाट अपलोड, सेयर गर्न सकिन्छ र विद्यार्थीले आवश्यक परेको बेला पढ्न र प्रतिक्रिया दिन सक्दछन् । विषम परिस्थिति र अबको अत्याधुनिक दुनियाँमा शैक्षिक जगतलाई व्यवस्थित बनाउनका लागि सिकाइ व्यवस्थापन पद्धति आवश्यक देखिन्छ ।  जसले गर्दा सिकाइको पाटोमा शिक्षक र विद्यार्थी दुवैले सक्रिय भएर लाग्न जरुरी हुन्छ । यो पद्धति लागू भयो भने कुनै पनि शिक्षकले झारो टार्ने काम गर्न सक्दैनन् । 

सिकाइ व्यवस्थापन पद्धतिले शिक्षकलाई योजनाबद्ध तरिकाले शिक्षण गर्न प्रेरित गर्दछ साथै सिकारूलाई पनि सक्रिय रुपमा सिकाइमा सहभागी हुन मद्दत पुर्याउँछ । यो शिक्षण सिकाइका क्षेत्रमा देखापरेको नयाँ अवधारणा हो ।  यसले सिकाइलाई प्रविधिसित जोड्न समेत सिकाउँछ भने सिकाइको वैकल्पिक बाटो समेत तयार पारी दिन्छ ।असहज परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिनका लागि सिकाइ व्यवस्थापन पद्धति निकै नै लाभदायक बनेको छ । यसका लागि हरेक विषय तथा कक्षा शिक्षकले प्रविधिमा पनि उत्तिकै जानकार हुन जरुरी हुन्छ।

 

विद्यार्थीलाई व्यस्त राख्ने केही सिकाइ व्यवस्थापन पद्धतिका उपकरणहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

  •  गुगल फारम

  •  स्काेलाेजी

  •  गुगल कक्षा

  •  हाजिरीजवाफ

  •  गुगलड्राइभ

  •  मेन्टिमिटर

  •  फ्लिप गार्ड

  •  वर्डआर्ट

  •  मेयरपड आदि

सिकाइ व्यवस्थापन पद्धतिका कार्यहरु 

  • अनलाइन प्रशिक्षणको रणनीति तयार पार्ने

  • शिक्षक तथा सिकारुलाई प्रविधिमा जोडिन प्रेरित गर्ने

  • अनलाइन पढाइका स्रोत र सामग्री उपलब्ध गराउने,

  • असहज परिस्थितिमा पनि पठनपाठनमा सहजता ल्याउने,

  • हरेक शिक्षण संस्थाका शिक्षकहरुलाई प्रविधिमैत्री शिक्षणमा योग्य बनाउने,

  • प्रविधिमा पहुच भएका गाउँले परिवेशका विद्यार्थीका लागि पनि सिकाइको वातावरण तय गर्ने आदि ।



 सिकाइ व्यवस्थापन पद्धति विद्यालयमा प्रयोगकाे सम्भावना र चुनौती

सिकाइ व्यवस्थापन पद्धति  विश्वको शैक्षिक क्षेत्रमा देखापरेको नवीन अवधारणा भए पनि हाम्रो जस्तो देशमा ई लर्निंगको प्रयोग र व्यवस्थापनका थुप्रै सम्भावना र चुनौतीहरु रहेका छन् जसले गर्दा सिकाइ व्यवस्थापन पद्धतिलाई लागू गर्न निकै अलमल देखिन्छ । अबको परिवेशमा शिक्षण सिकाइका लागि भौतिक रुपमा मात्रै कक्षाकोठामा शिक्षक र विद्यार्थी उभिएर पठनपाठन गर्नु अनिवार्य छैन । शिक्षण सिकाइ प्रणालीमा जोडिएर आफ्नो घरमा बसेर पनि औपचारिक शिक्षा हासिल गर्न सकिन्छ र अपेक्षित उपलब्धि समेत हासिल गर्न सकिन्छ । सामान्यतया खुला विश्वविद्यालयले समेत आफ्नो पठनपाठनलाई यसै माध्यमबाट अगाडि बढाएको देखिन्छ जुन असहज परिस्थितिका लागि पनि लाभदायी देखिन्छ । नेपालका सामुदायिक विद्यालयमा पनि यो पद्धति लागू गर्न सकेमा शिक्षण सिकाइ सहज र प्रभावकारी हुने देखिन्छ । सामान्यतया कक्षाकोठाको सिकाइ वातावरण सुधार र उच्च शैक्षिक उपलब्धी हासिल गर्नका लागि सिकाइ व्यवस्थापनलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा यसको सम्भावना र चुनौतीलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

 कक्षाकोठामा सिकाइ व्यवस्थापन पद्धतिकाे प्रयोगकाे सम्भावना :

  • शिक्षा क्षेत्र प्रविधिमैत्री बन्दै गएकाले विद्यालयमा यसको प्रयोग गर्न सकिने,

  • असहज परिस्थितिमा घरमै बसेर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नका लागि यसको प्रयोग गर्न सकिने,

  •  विषयवस्तुसित सम्बन्धित धेरै  शैक्षिक सामग्री एकै ठाउँमा राखेर शिक्षण सिकाइलाई व्यवस्थित गर्न सकिने, 

  •  विद्यार्थीको सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउनका लागि प्रयोग गर्न सकिने,

  •  शिक्षण सिकाई क्रियाकलापलाई रोचक बनाउन सहयोग पुर्याउने,

  • यसको माध्यमबाट विद्यार्थीलाई विभिन्न काममा व्यस्त राख्न सकिने,

  •  विद्यार्थीका प्रतिक्रियाहरु तत्काल प्राप्त गर्न सकिने आदि  ।



 कक्षाकोठामा सिकाइ व्यवस्थापन पद्धति प्रयोगकाे चुनौती

  •  सबै ठाउँमा बिजुलीको सुविधा नहुनु 

  •  धेरै शिक्षकहरु अझैपनि प्राविधिक ज्ञान नभएका हुनु,

  •  कतिपय शिक्षकले यसलाई झण्झटको रुपमा लिनु,

  •  गाउँले परिबेशमा इन्टरनेटको सुविधा पुग्न नसक्नु,

  •  विद्यालयमा आवश्यक विद्युतीय उपकरणहरूको अभाव हुनु,

  •  तालिममा सिकेका कुरालाई पनि व्यवहारमा नल्याउनु,

  •  सबै शिक्षकहरु प्राविधिक रुपले तालिम प्राप्त नहुनु  इत्यादि ।


 सिकाइ व्यवस्थापन पद्धतिकाे शैक्षिक उपयाेगिता :

सिकाइ व्यवस्थापन पद्धति नितान्त शिक्षा क्षेत्रसित सम्बन्धित विषय हो। शिक्षाको पनि यसले प्रशासनिक पाटोलाई महत्व राख्दैन । यसले केवल शिक्षण सिकाइलाई कसरी प्रभावकारी र व्यवस्थित बनाउन सकिन्छ भन्ने कुरालाई जोड दिने गर्दछ । आजको जस्तो विषम परिस्थितिमा कक्षाकोठा भन्नाले भौतिक रुपमा शिक्षक र विद्यार्थी एकै ठाउँमा जम्मा हुनु मात्रै होइन । प्रविधिको माध्यमबाट शिक्षक र विद्यार्थी एउटै ठाउँमा जोडिनु आजको कक्षाकोठाको विशेषता हो। असहज परिस्थितिमा पनि शैक्षिक क्षेत्रमा सहजता ल्याउन सिकाइ व्यवस्थापन पद्धतिको उपयोग गर्न सकिन्छ । सामान्यतया यसकाे शैक्षिक उपयोगितालाई निम्नानुसार उल्लेख गर्न सकिन्छः 

  • प्रविधिमा आधारित सिकाइलाई व्यवस्थित बनाउन,

  • डिजिटल शैक्षणिक सामग्री तयार पार्न, 

  • शिक्षण सिकाइको क्रममा प्रयोग गरेका सामग्रीहरु सार्वजनिक गर्न,

  • कक्षाकोठामा शिक्षक र विद्यार्थी दुवैलाई सक्रिय राख्न,, 

  • विद्यार्थीलाई आवश्यक नोटहरू उपलब्ध गराउन, 

  • व्यवस्थित शैक्षणिक योजना निर्माण गर्न,

  •  सिकाइ उपलब्धि उच्च राख्न,

  •  सिकाइको दायरालाई फराकिलो बनाएर ज्ञान वृद्धि गर्न आदि ।

 विद्यार्थीको सिकाइ र सिकाइ व्यवस्थापन पद्धति  :

  आजको विद्यार्थी भनेको २२ औं शताब्दीको निर्माता हो त्यसकारण उनीहरुलाई युग सुहाउँदो तरिकाले शिक्षा दिनु हाम्रो कर्तव्य हो। समय परिस्थिति र आवश्यकताको ख्याल गरेर शिक्षण सिकाइलाई अगाडि बढाउनु आजका शिक्षकहरूको मुख्य कर्तव्य हो । विद्यार्थीको सिकाइलाई दीर्घकालीन र स्थायी बनाउनका लागि तथा उनीहरुमा सकारात्मक सोचको विकास गराउनका लागि र विश्व बजारमा बिक्न सक्ने बनाउनका लागि  समेत सिकाइ व्यवस्थापन पद्धतिको अवलम्बन गर्न जरुरी देखिन्छ । विभिन्न कारणले गर्दा अबको विश्व असहज बन्दै गइरहेको छ । विभिन्न खालका महामारीहरु, युद्धहरू प्राकृतिक विपत्तिहरु आदिले गर्दा भौतिक रुपमा एकै ठाउँमा जम्मा भएर शिक्षण सिकाइ गर्न कठिन हुन सक्दछ यस्तो अवस्थामा शिक्षक र विद्यार्थी एकै ठाउँमा जम्मा नभएर पनि प्रविधिको माध्यमबाट सिकाइलाई निरन्तरता दिन सक्दछन् । जसका लागि विभिन्न खालका सफ्टवेयरहरुको प्रयोग गरिएको छ त्यस्ता सिकाइसित सम्बन्धित सफ्टवेयरहरु सिकाइ व्यवस्थापन पद्धतिका साधनहरु हुन् जुन विद्यार्थीको सिकाइसित प्रत्यक्ष सम्बन्ध राख्दछन् । 

 


सामान्यतया सिकाइ व्यवस्थापन पद्धतिबाट सिकारु हरुमा निम्न लाभ पुग्न सक्दछ : 

 

  • विषयवस्तुसित सम्बन्धित अधिक जानकारी प्राप्त गर्न सक्ने,

  • शिक्षक सँग प्रत्यक्ष जोडिएर सिकाइ क्रियाकलापमा सहभागी हुने भएकाले नजानेको कुरा सोध्न सकिने,

  • प्राविधिक ज्ञानलाई बढाउन सकिने, 

  • नबुझेका कुराहरु शिक्षकबाट नोटका रुपमा प्राप्त गर्न सकिने,

  • वस्तुगत प्रश्नोत्तरहरुद्वारा तत्कालै मूल्याङ्कन गरिने हुनाले आत्म मूल्यांकन गर्ने मौका पाइने,

  • विद्यार्थीलाई सिकाइमा सक्रिय भएर लाग्न प्रेरित गर्ने आदि ।


शिक्षककाे पेशागत विकास र सिकाइ व्यवस्थापन पद्धति  :

आजको शिक्षक विषयवस्तुमा मात्र दक्ष नभएर प्रविधिमा समेत दक्ष हुन जरुरी देखिन्छ ।प्रविधिमा दक्षता राख्न सकिन भने विषयवस्तुलाई प्रस्तुत गर्न शिक्षकलाई कठिन हुने यो अवस्थामा प्राविधिक रूपमा जानकार तथा सबल हुन जरुरी देखिन्छ 

शिक्षाको क्षेत्रमा देखापरेका नयाँ प्रविधि र विदेशीहरुले आजका शिक्षकहरूलाई थप चुनौती र जिम्मेवारी थपिदिएका छन् । अबको समाजमा शिक्षण पेशा कामचलाउ नभएर निकै चुनौतीपूर्ण र जिम्मेवारपूर्ण देखिन्छ ।  सिकाइ व्यवस्थापन पद्धतिका उपकरणहरू प्रयोग गर्न जानेन भने शिक्षण सिकाइलाई अगाडि बढाउन कठिन हुने आजको समयमा शिक्षकले निकै चनाखो हुन जरुरी देखिन्छ । यदि कुनै पनि व्यक्तिले समयसापेक्ष रुपमा ज्ञानलाई परिमार्जन गर्न सकेन भने शिक्षण क्षेत्रमा लाग्नुको कुनै अर्थ देखिन्न । हिजो शिक्षकलाई एउटा कलाकार रआदर्श व्यक्तिका रुपमा हेरिन्थ्यो भने आज शिक्षक थप प्राविधिकका रूपमा समेत हेर्न जरुरी देखिन्छ । त्यसकारण युग सुहाउँदो बन्नका लागि र पेशागत मर्यादालाई जोगाई राख्नका लागि शिक्षकले सिकाइ व्यवस्थापन पद्धतिसित नजिक हुन वा परिचित हुन जरुरी देखिन्छ । शिक्षकका लागि यो चौथो मात्रै विषय नभएर एउटा सुनौलो अवसर पनि हो । यस्ता पद्धतिहरूको विकासले गर्दा शिक्षाक्षेत्रमा पनि अब्बल व्यक्तिहरु मात्रै टिक्न सक्दछन् । यसले शिक्षकको समय र परिश्रमको समेत  बचत गर्ने भएकाले याे शिक्षकको पेसागत विकाससित  प्रत्यक्ष सम्बन्धित विषय बन्न पुगेको छ । यसले शिक्षकको पेसागत विकासमा खेल्ने भूमिकालाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ :

  •  शिक्षकलाई समयसान्दर्भिक बनाउने,

  •  शिक्षक लागि अद्यावधिक गराई राख्ने, 

  •  शिक्षकको समय स्रोतको बचत गर्ने,

  •  शिक्षकको पठनपाठन गर्ने शैलीमा ताजापन ल्याउने, 

  •  नयाँ शैली र प्रविधिका साथ प्रस्तुत हुन सहयोग पुर्याउने,

  •  ज्ञानलाई अद्यावधिक गर्न मद्दत पुर्याउने,

  •  पेशागत  सीपहरुलाई परिमार्जन गर्न मद्दत पुर्याउने, 

  •  शैक्षिक उपलब्धि हासिल गर्न मद्दत पुर्याउने  आदि ।


 




निष्कर्ष :

समग्रमा भन्नुपर्दा सिकाइ व्यवस्थापन पद्धतिकाे प्रयोग शिक्षण सिकाइका क्षेत्रमा विशेष लाभदायी हुन सक्दछ । सिकाइ व्यवस्थापन पद्धतिका उपकरणहरूको प्रयोग गरेर जस्तोसुकै अवस्थामा पनि शिक्षण गर्न सकिने भएकाले शिक्षण क्षेत्रका लागि यो बरदान सावित भएको छ ।यसले प्रभावकारी शिक्षण लागि मद्दत पुर्याउँछ भने शिक्षक र शिकारलाइ समेत ताजा र स्फूर्त राख्न सहयोग पुर्याउँछ । त्यस्तै सिकाइ व्यवस्थापन पद्धतिले शिक्षककाे समय र स्रोतको बचत गर्दछ भने विद्यार्थीलाई समेत सिकाइमा सहयोगी बन्न सक्दछ । 

सिकाइ व्यवस्थापन पद्धतिका लागि शिक्षक र विद्यार्थी प्राविधिक रूपमा दक्ष हुन जरुरी देखिन्छ भने विद्युत् र इन्टरनेटको समेत राम्रो पहुँच हुन जरुरी देखिन्छ । जुन हाम्रोजस्तो मुलुकका लागि निकै चुनौतीपूर्ण रहेको छ । अबको शैक्षिक गोरेटोलाई सहज र प्रभावकारी बनाउनका लागि शिक्षासित सम्बन्धित सरोकारवाला निकाय तथा सरकारले समेत त्यतापट्टि ध्यान दिन जरुरी देखिन्छ । अनि मात्रै नेपाली शिक्षाको क्षेत्रले पनि चाहेको जस्तो फड्को मार्न सक्दछ भने व्यवहारमुखी ज्ञान दिएर बेरोजगारीको खाडललाई पनि पुर्न सकिन्छ ।

 ईश्वर दत्त जोशी 

ठेगाना : पु.न.पा, ७ बैतडी

हाल कार्यरत : अमर ज्योति प्राविधिक मा.वि नुवाकोट


                                      समाप्त





कक्षा ८ का दोस्रो भाषी विद्यार्थीहरूको नेपाली पठन र लेखन अभ्यासको समस्यालाई आधार मानेर तयार पारिएको कार्यमूलक अनुसन्धान २०८०

शिक्षक : निर्मला भट्ट

                                          नि.मा. शि. तृतीय

विषय : नेपाली

कर्मचारी संकेत नम्बर १८०३३०

कालिका माध्यमिक विद्यालय,सूर्यगढी-२,कटुन्जे, नुवाकोट













कार्यमूलक अनुसन्धान 


कक्षा ८ का दोस्रो भाषी विद्यार्थीहरूको नेपाली पठन र लेखन अभ्यासको समस्या

१ अध्ययनको परिचय :

१.१ अध्ययनको पृष्ठभूमि :

यस कालिका माध्यमिक विद्यालयमा अधिकांश दोस्रो भाषी विद्यार्थीहरू अध्ययनरत रहेका छन् । उनीहरू कोही तामाङ मातृभाषी रहेका छन् त कोही अन्य मातृभाषी रहेका छन र थोरै विद्यार्थी नेपाली पहिलाे भाषी विद्यार्थी रहेका छन् । यस्तो परिवेशमा नेपाली भाषा दोस्रो भाषाको रुपमा शिक्षण गर्नुपर्ने अवस्था सृजना भएको छ । 

नेपाली भाषा सिकाइ सहजीकरणका क्रममा विभिन्न प्रकृतिका समस्याहरू देखिन्छन् । त्यसमध्ये विभिन्न मातृभाषा भएका विद्यार्थीहरूको उपस्थिति एउटा समस्या हो । यस्ता कक्षाहरूमा स्वभावैले विद्यार्थीहरूको भाषा सिकाइको स्वरुप एकै प्रकारको हुँदैन । यस्तो हुनुमा मूलतः मातृभाषको प्रभाव नै हो । कतिपय मातृभाषाका विद्यार्थीहरू नेपाली भाषालाई दोस्रो भाषाका रुपमा सिक्ने भए पनि घर परिवारमा नेपाली भाषा बोल्ने र व्यवहार गर्ने गर्दछन् । कतिपय विद्यार्थी भने घरपरिवारमा आफ्नो मातृ भाषाको मात्र प्रयोग गर्छन् । यस्तो अवस्थामा नेपाली भाषाको प्रयोग विद्यालयमा मात्र सीमित हुन्छ । त्यसले गर्दा नेपाली भाषा दोस्रो भाषाका रुपमा पढ्ने विविध मातृभाषा भएका विद्यार्थीको पढाइ र लेखाइमा समस्या देखिन्छ । 

२ समस्याको पहिचान :

घरपरिवारमा नेपाली भाषाको प्रयोग नगर्नु बहुभाषिक कक्षामा नेपाली दोस्रो भाषी विद्यार्थीको मूल समस्या हो । यो समस्या नेपालका प्रायः जसो विद्यालयमा देखिन्छ । कालिका माध्यमिक विद्यालयमा पनि यो समस्या टड्कारो रुपमा देखा परेको छ । यस कारणले गर्दा धेरै विद्यार्थीको बोलाइमा र लेखाइमा त्रुटि हुने गरेको देखिन्छ । प्रस्तुत अध्ययनमा समस्याका रुपमा कक्षा ८ मा अध्ययनरत १५ जना विद्यार्थीहरूको नेपाली लेखन र पठनको अभ्यासलाई लिइएको छ ।



३. उद्देश्य : 


उल्लिखित समस्या समाधानका लागि निम्न उद्देश्य चयन गरिएको छ :

  • पहिलो र दोस्रो नेपाली भाषी विद्यार्थीको पहिचान गर्नु,

  • दोस्रो नेपाली भाषी विद्यार्थीका बोलाइमा देखिने समस्याको न्यूनीकरण गर्नु,

  • दोस्रो नेपाली भाषी विद्यार्थीका प्रश्नोत्तर लेखनमा देखिने समस्याको न्यूनीकरण गर्नु,

  • दोस्रो नेपाली भाषी विद्यार्थीलाई शिक्षण गर्ने विधि पद्दति निश्चित गर्नु ।


४ समस्याका सम्भावित कारण :


  • विद्यर्थीको भनाइ अनुसार उनीहरू घरपरिवारमा नेपाली भाषाको प्रयोग गर्दैनन ।

  • विद्यार्थीहरूले घरमा अभिभावकहरूबाट आफूले नबुझेका कुरा सोधेर समस्या समाधान गर्न सक्दैनन । 

  • बोलाइगत त्रुटि हुँदा समेत मौखिक अभ्यासमा सहयोगको व्यवस्था छैन । 

  • गृहकार्य वा अन्य लेखन  र पठन अभ्यासमा उनीहरूलाई आवश्यक सहयोग गर्ने व्यवस्था मिलाइएको छैन । 


५. समस्या समाधानका विकल्प : 


  • शिक्षण विधिमा परिवर्तन

  • कक्षाकार्यकलापमा विविधता

  • पहिलो नेपाली भाषी र दोस्रो नेपाली भाषी बिच सहयोग आदानप्रदान


६. विकल्पहरूको प्राथमिकता  :


  • पहिलो नेपाली भाषी र दोस्रो नेपाली भाषी विद्यार्थीको समूह विभाजन गर्ने,

  • दोस्रो नेपाली भाषी विद्यार्थीले नेपाली लेखनमा गर्ने त्रुटिहरूलाई सङ्गठित गर्ने,

  • समान किसिमको शिक्षण विधिलाई परिवर्तन गरी पहिलो भाषी र दोस्रो भाषीलाई शिक्षण गर्ने विधिमा परिवर्तन गर्ने,

  • पहिलो भाषी र दोस्रो भाषी विद्यार्थीहरूका बिच सानासाना समूह बनाउने ।


उपर्युक्त समस्यामा आधारित कार्यमूलक अनुसन्धानमा पहिलो, दोस्रो र तेस्रो चरणअन्तर्गत गरिने कार्यकलाप निम्न अनुसार उल्लेख गर्न सकिन्छ :


(क) कार्यमूलक अनुसन्धान


  • योजना

  • कार्यान्वयन

  • अवलोकन 

  • प्रतिविम्बन


योजना :

के गर्ने ? १.   पहिलो नेपाली भाषी विद्यार्थीको समूह निर्धारण गर्ने

             २.  लेखन र पठनसँग सम्बन्धित त्रुटिको सङ्कलन गर्ने ।

कहिले ? १.  सिकाइ सहजीकरण  प्रारम्भ भएको दुई हप्ताभित्र

             २.  सिकाइ सहजीकरण प्रारम्भ भएको चार हप्ताभित्र

कसरी ? १  .विद्यार्थीहरूको पारिवारिक पृष्ठभूमि, भाषिक पृष्ठभूमि र   

                आर्थिक अवस्थाका आधारमा गर्ने ।

कसले ?      कक्षा शिक्षक, प्र. अ र विद्यार्थीको सहभागितामा

किन गर्ने ? १. विद्यार्थीको पठन र लेखनमा एकरूपता कायम गर्न

          २.      लेखन क्षमतामा अभिवृद्धि गर्न ।



कार्यान्वयन :

  • माथि दिइएको योजनाअनुसार कक्षा ८ मा अध्ययनरत १५ जना विद्यार्थीहरूका लागि शिक्षण सामग्री तयार गर्ने,

  • विषय शिक्षक (स्वयम) ले समस्या र उद्देश्यमा उल्लेख भए अनुसार विद्यार्थीका सानासाना समूह निर्माण गर्ने,

  • प्रत्येक समूहलाई अलग अलग किसिमका बाेलाइ र लेखाइको अभ्यासमा उत्प्रेरित गर्ने,

  • मातृभाषी र दोस्रो भाषीको उत्तरपुस्तिका साटासाट गरी पढ्न लगाउने,

  • पहिलो नेपाली भाषी विद्यार्थीलाई दोस्रो नेपाली भाषी साथीसँग बसेर छलफल गर्न प्रेरित गर्ने,

  • शिक्षकले ती दुबै समूहका विद्यार्थीको उत्तरपुस्तिकामा भएका त्रुटिहरू टिपोट गरी विद्यार्थीलाई पृष्ठपोषण दिने,

  • सबै समूहलाई एकअर्का समूहले प्रस्तुत गरेको सामग्रीप्रति टिप्पणी गर्न लगाउने ।



अवलोकन  :

शिक्षकले विद्यार्थीका प्रत्येक सानाे समूहको उत्तरपुस्तिका संकलन गरी सानाे समूहगत रूपमा भएका कमजोरी र राम्रा पक्षका बारेमा सामूहिक टिप्पणी गरिदिने र आवश्यक्ताअनुसार पृष्ठपाेषण दिने ।


 प्रतिबिम्बन :

विद्यार्थीहरूका कमजोरी तथा सुधार गर्नु पर्ने पक्षका टिपोटलाई निचाेडमा पुग्नका लागि आफ्ना कार्यकलापहरू उपयुक्त भए नभएको विषयमा प्रस्ट हुने,

त्यस क्रममा रहेका कमजोरीहरूलाई सुधार गर्ने र दोस्रो चक्रको कार्यमूलक अनुसन्धानकाे पुनः योजना बनाउने ।


                             नाम : निर्मला भट्ट

कालिका माध्यमिक विद्यालय सूर्यगढी २ नुवाकोट

निम्न माद्यमिक नेपाली विषय शिक्षक







Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)