विभिन्न आलेख

                              

प्रतिवेदन लेखनको नमुना २०८० 

शीर्षक : पर्यटन

परिचय :

पर्यटक भन्नाले मनोरञ्जनका लागि देश विदेश घुमफिर गर्ने मानिस भन्ने बुझिन्छ ।  पर्यटन भनेको मनोरञ्जन वा घुम्नफिर गर्ने लगायत विभिन्न उद्देश्यका लागि देश विदेश भ्रमण गर्न हो।  यो नेपालको अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना बोकेको तुलनात्मक रूपमा लाभदायक क्षेत्र हो।  प्राकृतिक, सांस्कृतिक सम्पदा र विविधताका कारण नेपालमा पर्यटनको ठुलो सम्भावना रहेको देखिन्छ । नेपालमा पर्यटनको क्षेत्रबाट अरु क्षेत्रको तुलनामा अधिक लाभ लिन सकिन्छ।  

 पर्यटन नेपालमा सबैभन्दा ठूलो उद्योग हो र यो विदेशी मुद्रा र राजस्वको सबै भन्दा प्रमुख स्रोत हो। संसारका दश उच्चतम हिमाल नेपालमा रहेका छन। नेपालमा पर्वतारोहण र चट्टान (रक) आरोहीहरूका लागि प्रमुख गन्तव्य रहेको छ। विविध धार्मिक स्थलहरू, ताल तलैया, नदी, पर्वतमाला, वन, वन्यजन्तु, मानिसहरू र साँस्कृतिक भौगोलिक तथा वातवरणीय विविधता यहाँका महत्वपूर्ण आकर्षणहरू हुन।


नेपालमा पर्यटनको अवस्था :

वर्तमान अवस्थामा सरकार, नागरिक समाज, मिडिया सबैले आर्थिक विकासको लागि मानेको क्षेत्र भनेको कृषि,पर्यटन र उर्जा नै हो । यसमा पनि अझ धेरै पर्यटन क्षेत्रमा प्रयाप्त सम्भावना रहेको छ। जसको लागि थोरै लगनशील भएर फरक ढंगले प्रचार प्रचारमा लागियो भने नेपालमा पर्यटन विकास गर्न सकिन्छ। यसले सरकारले पर्यटनलाई नै पहिलो प्राथमिकता दिएर योजनासहित अगाडि बढ्नुपर्दछ। अहिले बनेको सरकाले पनि यसको प्रयाप्त विकासमा लाग्नु पर्छ। पर्यटन विकासको लागि सबै भन्दा ठूलो चुनौती भनेकै आधारभुत पूर्वाधारको कमि रहेको छ। पूर्वाधारको विकास गर्न सकेमा धेरै पर्यटक आगमन बढाउन सकिन्छ। अहिले साना ठूला देशहरूले हाम्रो देशमा आउनुपर्यो भनेर आह्वान गरिरहेका छन्। प्रचारप्रसारलाई तिव्र बनाएका छन्। हाम्रो संकृतिक संम्पदा, प्राकृतिक सौन्दर्यता अरुभन्दा फरक सभ्य र भव्य रहेको छ। कोरोनाले विचमा केही समस्या निम्त्याए पनि अहिले त्यो मथ्थर भइसकेको छ । यस्तो बेलामा पर्यटनलाई माथि उठाएर देशको समग्र विकासमा टेवा पुर्याउनु आजको आवश्यक्ता हो ।

नेपालमा बाह्य तथा आन्तरिक पर्यटनको वर्तमान अवस्थालाई निम्नानुसार देखाउन सकिन्छ :

1) कोभिड -१९ को महामारीको कारण सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा पर्यटन आगमन ३४.३% ले घटी १,५०,९६२ रहेको । 

2) आर्थिक सर्वेक्षण २०७९/८० अनुसार सन् २०२१ मा पर्यटकको औषत वसाई १५.५ दिन रहेको छ । भने प्रतिदिन खर्च ४८ डलर रहेको छ ।

3) उदेश्यका आधारमा नेपालमा विदा, मनोरञ्जन, यात्रा : ६६.८%, पर्वतारोहण / सहासिक यात्रा / पदयात्राः १०.३%, तीर्थयात्राः ७.४%, र अन्यः १५.५% पर्यटक नेपाल भ्रमण गर्दछन् ।

4) चात्त्य तथा आन्तरिक पर्यटक मध्ये अधिकांसको गन्तव्य गौतम बुद्धको जन्मस्थल लुम्बिनी रहेको छ ।



नेपालमा पर्यटन उद्योगको विकासका सम्भावनाहरु

नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रूपमा विश्वमा चित्रित छ । यही अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू नै पर्यटन विकासका प्रमुख आधारका रूपमा रहेको छन् । यहाँको जलस्रोत, प्राकृतिक स्रोतसाधन, भौगोलिक बनावटजस्ता क्षेत्रहरूले पर्यटकलाई आकर्षण गरिरहेका छन् । यहाँ भू–बनोटका हिसाबले ६० मिटर देखि ८ हजार ८ सय ४८ मिटरसम्मको उचाइ भएको भूबनोट छ भने २८ वटा हिमशृखंला पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेका छन् ।त्यसैगरी सांस्कृतिक रूपमा पनि धनी रहेको नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी छन् । यी क्षेत्रका आधारमा हेर्दा नेपालमा पर्यटन व्यवसायको विकास र विस्तारको सम्भावना भने प्रशस्त छ ।

नेपालको परम्परागत सांस्कृतिक, ट्रेकिङ र पर्वतीय पर्यटनलाई कसरी दिगो र थप आकर्षक बनाउनु भनेको साँच्चिकै चुनौतीपूर्ण छ । संघीय संरचनामा पर्यटन क्षेत्रको विकास र विस्तार गर्नका लागि साझा एजेन्डा तय गरेर अगाडि बढ्नुपर्ने हुन्छ । तर, अहिले तीनै तहका सरकारबाट पर्यटन क्षेत्रमा लगाइने दोहोरो शुल्कका कारण पर्यटन उद्योग बढी नै मात्रामा प्रताडित हुँदै आएको छ । यसको व्यवस्थापन र रोयल्टीको बाँडफाँड तथा लगानी व्यवस्थापनको विषय चुनौतीपूर्ण छ । सेवा, सुविधा र प्याकेज रेटमा समेत एकरूपता छैन । निजी क्षेत्रबाट भएको लगानीलाई एकीकृत र सरकारी प्राथमिकताका आधारमा लगानी गर्ने कार्य अर्को जटिल विषय बनेको छ । पर्यटन क्षेत्रमा खपत भइरहेको खाद्यान्नलगायतका सामाग्रीहरू आयातित नै भएको हुँदा आशातीत रूपमा फाइदा लिन सकिएको छैन । पर्यटन क्षेत्रको विकासमा साहसिक खेल बन्जी जम्पिङ, हाइकिङजस्ता खेलको प्रयोग गरी पर्यटन आकर्षण गर्न सकिएन । पर्यटन क्षेत्रका साझेदारहरू एवं लगानीकर्ताहरू पर्यटन विकासभन्दा प्रवद्र्धनात्मक कार्यमा संलग्न हुँदा यस क्षेत्रको विकास हुन सकेन, स्थानीय निकायको संलग्नतामा पर्यटनसम्बन्धी नीति तय गर्न नसक्दा स्थानीय निकायले पर्यटनसम्बन्धी बन्ने नीतिमा अपनत्व भएन र प्रभावकारितामाथि प्रश्न उठ्यो, पूर्वाधार निर्माणमा प्रत्यक्ष संलग्न निकायहरू सडक, विद्युत्, सञ्चार, खानेपानीसँग समन्वयात्मक रूपमा क्रियाकलाप सञ्चालन हुन सकेन ।

नेपालमा पर्यटन उद्योगको विकासका सम्भावनाहरुलाई निम्न अनुसार बुँदागत रुपमा पेस गर्न सकिन्छ 


1) प्राचिन कला र सस्कृतिको धनि,

2) विश्वको सर्वोच्च शिखर सगरमाथा,

3) प्राकृतिक सौन्दयले भरिपूर्ण,

4) धार्मिक स्थलमा प्रख्यात,

5) संस्कृति तथा जलवायूमा विभिधता भएको,

6) विभिन्न सहासिक खेलकुदहरु आयोजना गर्न सक्ने,



पर्यटनको महत्व

आर्थिक रूपमा पर्यटनको महत्व सर्वाधिक रूपमा बढिरहेको छ । नेपालमा सन् १९६० को दशक अगाडि पर्यटन उद्योग वा व्यवसायबाट हुने आम्दानीलाई त्यति महत्व दिइएको थिएन । त्यसपछि प्रायः सबैजसो देशहरूले यसलाई वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य माध्यम ठानि क्रमशः देशीय र अन्तर्राष्ट्रिय पर्यटन गतिविधि तीव्र रूपमा अगाडि बढ्यो । तब यसले आन्तरिक विकास बढाएको, देशको गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय आय बढाउनुका साथै ठूला तथा घरेलु उद्योग र उत्पादनमा वृद्धि गराएको, बेरोजगारी समस्या कम गराएको, शोधानान्तर स्थिति सुध्रिएको जस्ता प्रत्यक्ष आर्थिक क्रियाकलापहरूमा प्रभाव परेकाले पर्यटन क्षेत्र आर्थिक महत्वको विषय बन्न गएको छ । विशेषगरी एसियामा पर्यटन व्यवसायबाट चीन, भारत, जापानलगायतका देशहरूले आफ्नो स्थितिलाई मजबुद पारेका छन् । नेपालको गतिविधि पर्यटकको अनुकूल नरहे पनि पर्यटन क्षेत्रले राष्ट्रिय आम्दानीमा वृद्धि भइरहेको छ ।


पर्यटनको समग्र महत्वलाई बुँदागत रुपमा निम्नअनुसार पेस गर्न सकिन्छ :


1) विदेशी मुद्रा आर्जन मार्फत राष्ट्रिय आयमा वृद्धि गर्न,

2) विश्व पर्यटन वजारवाट लाभ हाँसिल गर्न,

3) रोजगारीका अवसरमा वृद्धि गर्न,

4) सामाजिक सास्कृतिक अन्तरक्रयामा वृद्धि गर्न,

5) घरेलु उद्योगको विकासमा टेवा पुर्याउन,

6) विश्वमा नेपालको प्रचार प्रसार गर्न,

7) कला र संस्कृतिको संरक्षण गर्न ।

      प्रेम पत्र -प्रणय दिवस विशेष

प्राण प्यारी मोहिनी,


अनन्य प्रेम र लाखौँ सम्झना । प्रिया हृदयगारको माझबाट वाफिएर निस्किएको चेतनाको एक झिल्कोलाई प्रेमको महाज्योतिमा एकाकार गर्न मधुरो जीवनको उज्यालोमा प्रेमिल अक्षरहरुले टुटेफुटेका मनका चोइटा बटुल्दै प्रेमको चरणमा सभक्ति यो सौगात अर्पित गरेको छु ।

आर्या तिमीलाई म कुन शब्दले सम्बोधन गरुँ । मेरा ओजहीन शब्दमा तिमीलाई सजाउने शामर्थ्य छ छैन त्यो तिम्रो हृदयको गतिलाई सोधेर तृप्त हुनु । हिमालकी एक्ली छोरी, हिम शभ्यताले सुशोभित तिमीसित गुणको अभाव रहला भन्ने कुरामा यो युगका पुरुषहरु कल्पना समेत गर्न सक्दैनन । मलाई लाग्छ तिमी सतीदेवीकी आत्मा हुनुपर्छ, किनभने तिम्रो अतृप्त आत्मा पुनर्जन्मका लागि हिमखण्डको वरिपरि घुम्दै माधुरी रुपमा प्रकटित भयो । मानवीय प्रेमको सम्बन्ध अनन्त जन्मको हुन्छ त्यसकारण हरेक आफन्तहरु पराइ लाग्दछन भने हरेक पराइ आफन्त ।

तिमीलाई लालसाको महलभित्र मोहपाशमा बाँधेर राख्ने शामर्थ्य ममा कहाँ होला र प्रिया ? कहाँ तिमी शक्ति कहाँ म शक्तिमान । मोहिनी प्रेम मेरो मौलिक शब्द हो । यसको सम्बन्ध मेरो आर्य सभ्यतासित जोडिएको छ , त्यसकारण तिमीसित प्रेमिल सम्बन्ध स्थापना गर्न मैले ऋणि हुनु परेन ।तिमीलाई थाहा छ ? मर्यादा पुरुष भगवान रामले ऋषि प्रेमका खातिर युगान्तर पश्चात समेत प्रेमावतार लिएर यस धराधाममा पुनः प्रकट हुन विवश बने ।

प्रिया जब तिमी प्रेमका परिभाषाहरु रटेर मलाई सुनाउँछ्यौ त्यसबेला मलाई थुनिएको आभास हुन्छ । प्रेमलाई परिभाषामा उतारेर देखाउने कार्य मायापतिले गर्न सकेनन भने हामी तुच्छ प्राणी को हुन्छौँ त्यसको प्रतिबिम्ब उतारेर देखाउने ? प्रेमका अमर वाणी बेदका अमूर्त ऋचामा उतारिएका छन् न कि मानवका उडन्तै ठेलीहरुमा । त्यसकारण तिमी प्रेमतत्त्व जान्न चाहन्छ्यो भने ऋचाको रहस्य बुझ । जहाँ मानवीय प्रेम, प्रकृति प्रेम, ईश प्रेम स्वर्णलिपिमा कुँदिएको छ । 

मानिसको सम्बन्धको जालो प्रेमको एक भङ्गालो हो । जसमा अनन्तसम्म यो श्रष्टिविधान मुस्कराउदै नागबेली झैँ झुलिरहन्छ । कुशल नर्तकीले झैँ कल्ली बजाउँदै नाचिरहने प्रेमलाई म सुत्र लगाएर निकाल्न समर्थ छैन । त्यसकारण मसित प्रेमका परिभाषा नसोध । आजसम्म सायद मानवीय सभ्यताको शिरानमा प्रेमको सागर नबग्दो हो त, रुखो सम्बन्धले मानिस उहिल्यै नै यायावर बनेर बसुन्धराको चारैतिर चक्कर काटिरहन्थ्यो । तर प्रेमको जलले गर्दा उजाड मरुभूमिमा पनि गुलाब फुलाएको स्वप्न महल ठड्याएर मानिस सुन्दर भविष्यको परिकल्पना गर्दै बाँचिरहेको छ । 

प्रेम र प्रणय गर्न हरेक प्राणी आफ्नै नियमभित्र आजाद छन् । यो सत्यतालाई शिरोपर गरेर मानवीय प्रेमको एउटा पुष्प समयको पाउमा अर्पण गरेर युगले दिएको उपहार ( जीवन ) तिम्रै लागि पोको पारेर राखेको छु । म तिमीले भने जस्तो कुबेर बन्न सक्छु, सक्दैन तर कर्मको रथलाई आखिरी स्वाससम्म दौडाउने छु । भरौसा र आसा त ईश्वरले समेत दिँदैनन भने पलमा उड्ने श्वास र क्षणमा त्याग्नुपर्ने संसारको तिमीलाई म के विश्वास दिलाऊँ । सत्यको परिभाषा हुदैन किनभने सत्य त सत्य नै छ बरु झुटलाई सत्य साबित गर्न मानिस अनेक तमासा देखाउँदै अघि सर्ने गर्दछ । व्यवहारको कपटतालाई प्रेममा पाएको धोका भनेर अमूल्य जिन्दगी त्याग्नेको कित्तामा राखेर मलाई हेर्ने यत्न गरेमा तिम्रो त्यो आँखिरी भूल हुनेछ । 

पूर्वबाटै प्रेमको सूर्य उदाएको यथार्थलाई हत्केलाले छोप्दै पश्चिमी वायूको प्रभावमा परेर अनर्थमा प्रेमको प्रलाप गरेर नबजाउनु पर्ने बाजा बजाएर बस्नु र ननकिाल्नु पर्ने धून निकाल्नु भनेको रहस्यको मुहारमा तेजाव छर्कनु हो । तिमी प्रेममा लैला मज्नुको कहानीलाई ल्याएर गोपी प्रेममा आरोपित गर्न तम्सिन्छ्यौ । तिम्रो प्रेमको महल तिमीले सोचेजस्तो रित्तो कहाँ छ र प्रिया ?

प्रेयसी, प्रेम जुन अर्थमा दुनियाले प्रयोग गरिरहेको छ त्यो त सम्बन्धको तेस्रो तह मात्रै हो । प्रेम त सम्बन्धको प्रथम तहमा पर्दछ । जहाँ आफ्ना प्रेमी प्रेमिकाको हितमा उसका प्रेमी प्रेमिकाको मन मथिङ्गल घुम्ने गर्दछ । प्रेम प्राप्तिका लागि नभएर त्याग र समर्पणका लागि दर्शाइन्छ । प्रेम गरेर पनि कहाँ हुँदो रहेछ र । न त्याग्न खोजे पनि सकिदो रहेछ । बैँसको आगोमा डढेर मानिस आवेग र स्वार्थलाई प्रेमको नाम दिइ पछ्याइरहन्छ । मानिस भन्छ प्रेमको अगाडि आउने बाधा हटाउन हरेक मोडमा अगाडि म हुनेछु । त्यसपछि रथ बाटोमै छोडेर सारथी गायव भएदेखि अलप यात्री प्रेमको चुचुरोतिर हेरेर टोलाइ रहेको छ । सारथी कालान्तरमा फर्के पनि प्रेमको शिखर चुमौला भनेर । 

मानिस प्रेमलाई भोग्य बस्तु सम्झेर भोगको तुच्छ चाहानाले प्राप्त गर्न खोज्दछ । त्यही संस्कारको भूत तिमीमा कहिल्यै नचढोस । प्रेम त हृदयको पुकार हो । जीवन जिउने औजार हो । समयले मधुमासमा तिम्रो र मेरो भेटको साइत जुरायो । यसमा विष्मित हने स्थान छैन । श्रष्टिको विधान र समयको मागलाई लात मार्न न तिमीले सक्छौ प्रिया न मैले त्यसकारण लचकताका हरेक द्वार हृदय उघारेर हेर्न नभुल्नु नत्र जीवन भर पछुतो गरेर जीउन विवस हुने छौ ।

मोहिनी तिम्रो यौवनमा कुनै खोटछैन । तिम्रो चेहरामा युगको आभा झुल्कदा ममाथि एउटा अपूर्व आनन्दको वर्षा हुन्छ । धपक्क बैँसले बलेको बेला मानिस अन्धो भएर नगर्नु गर्दछ , नबोल्नु बोल्दछ , न सुन्नु सुन्न खोज्दछ । परिणाम स्वरुप झिल्के पुतली झैँ आगोमा झोसिएर प्राणहीनताको अन्धकारमा बिलाउन पुग्दछ । पे्रममा मात होृइन, चेतन मनको कसी लगाउनु पर्दछ । प्रेममा त्याग र समर्पणको यूगल गीत गाउन सक्ने मात्र (प्रेम )यसको महत्त्व बुझ्न सक्दछ । प्रेममा प्रभाव छोड्ने र ग्रहण गर्ने मात्र होइन समर्पणको उच्च र पबित्र भाव पनि झल्कनु पर्दछ । अनि पो प्रेमको पुष्प वसन्तको आँचलमा शौरभ छरेर फुल्न फल्न सक्दछ । 

जीवन प्राणीले चाहेर पाउने चिज होइन यस्तो अनमोल जीवनमा साश्वत प्रेम गर्न नजाने जीवनको उमङ्ग र गरिमा पत्तै नपाइ अस्ताउन बेर लाग्दैन । मेरो प्रेमप्रति समर्पित छ्यौ भने चर्मचक्षु खोलेर होइन बन्द गरेर हृदयको पुकार सुन्ने यत्न गर । प्रेम गर्नेले हतार गर्नुहुँदैन । प्रेम गर्नेले मानवीय मर्म, धर्म, कर्मको शिर छेदन गर्नुहुँदैन बरु भविष्यलाई उज्वल पथ देखाउन सक्नु पर्दछ । हरेक रोगीलाई स्वस्थ भएर जीउने ऊर्जा दिन सक्नुपर्छ । अनि पो प्रेम जीवन बनेर संसार सजाउन सक्दछ । किन प्रेममा राधा र कृष्णले त्यागको गीत गाए ? किन प्रेममा शव बोकेर शिवले ब्रह्माण्डको फन्को मारे ? यी रहस्यका मुहानहरुलाई बुझेर सम्बन्धका सुनौला हातहरु बढाउने यत्न गर्नु प्रिया ।

समयलाई पर्खन नसक्ने मानिसले कहिल्यै प्रेम गर्न सक्दैन । हतारोमा जोडिनेहरु पनि आवेगका रोगी बनेका छन । के हुरी कै गतिमा जीवन चलाउन सकिएला र ? यदि प्रेमलाई बैँसको हुरीले उडाएर जङ्गली स्वरुपमा पु¥याउँछ्यौ भने त्यहाँ तिम्रो र मेरो अस्तित्व पलमै विलय हुनेछ । अनि तिमी र मैले गरेको प्रेम समाजको बाटोमा कहिले नपुरिने गर्त बनेर संसारलाई गिज्याइरहनेछ । कालान्तरमा यूगले भन्ने छ, धिक्कर छ तिमीलाई स्वार्थ र व्यापारका लागि प्रेमको अपमान गरेर सामाजिक मर्यादाको उलङ्घन गर्ने तिमी नै होइनौ र धूर्त मानिस ?

मलाई तिमी मालिककी पुत्री हौ या दासकी सुकन्या,यसमा कुनै सङ्कोच छैन । किनकि मैले तिम्रो माता पिताको सम्पति या गरिबीसित हैन तिमीसित प्रेम गरेको हुँ । प्राणप्यारी सम्पति त जीवन रहे आर्जन गरौँला । तर प्रेम धनको जसरी कमाउन र खर्चिन सकिदैन । मैले तिम्रो धर्म, जात, हैसियत, रुप, पेशालाई प्रेमको जलप मात्रै लगाएर हेर्ने कुचेष्टा गरेमा म पतित हुनेछु । तिम्रो रङग र वर्गसित यसकारण सरोकार राख्न चाहन्न कि तुच्छ मतिका मानिसहरुले छल र बल गरेर सूर्यपुत्र कर्णलाई सुदपुत्र बनाएको र योजनगन्धालाई माझी बनाएको इतिहास मानवताको उदाङ्गो चित्र उतार्दै मानव मतिको दृष्टान्त दिइ रहन्छ ।

प्रेमले मानिसलाई शक्तिको सत्ता प्रदान गर्दछ । प्रेमिकाको प्रेमले गर्दा नै प्रमिथसले स्वर्गबाट आगो चोर्ने आँट गरे । सीताको प्रेमले गर्दा नै रामले दशानन रावणको वध गरेका थिए । प्रेमीको प्रेमिल भक्तिको शक्तिले गर्दा जालन्धर शक्तिमान बनेका थिए । मन्दोधरीको प्रेमिल वचन नसुन्नाले रावणले मारिनु पर्‍यो भने गन्धारीको प्रेमिल सल्लाह नमान्दा धृतराष्ट्रले वशं बिनासको पिडा खेप्नु पर्‍यो । त्यसकारण तिमी सूर्य हौ म त्यसको राफिलो किरण । तिमी चन्द्रमा हौ म त्यसको सौम्य किरण । अब तिमीले हृदयको द्वार खोलेर चिन्न सक्नु पर्दछ कतै ईन्द्र गौतमिको भेषमा आए भने र इन्कार गर्दै भन्न सक्नुपर्छ ‘अहिल्या अब चेतनाको नयाँ सोपानमा उक्लिसकी’ भनेर । 

हे नाग कन्या वर्षन नसकेको बादलझैँ नयनका कुना कुनामा रहस्य लुकाइ लाजको मुस्कान छरेको बाहाना गरी कतै मेनका बनेर आउने यत्न पर्‍यौ भने मैले पनि विश्वामित्रको तपस्या भङ्गबाट पाठ सिकिसकेको छु । सलोमीले नित्सेसित गरेको व्यवहारलाई दोहोर्‍याउने भए मसित प्रेमको प्रलाप नगरे हुन्छ । तिम्रा हरेक भावना मेरा लागि शक्ति बनून । तिम्रा हरेक चाहाना मेरा लागि गति बनून । अनि मात्र म पलास होइन गुलाबको जसरी तिमीलाई मेरो सिर्जनशील हृदयमा रोप्ने छु । सकारात्मक प्रतिउत्तरको आसासहित कलमको गतिलाई निस्तेज पार्दै सप्रेम यो तुच्छ पत्र प्रेयसीको लागि लेखि पठाए ।

उही प्रेमी

-ईश्वर


Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)