असंगति
राष्ट्रका हर्ता कर्ताले किन कुकृत्य गर्दैछन
ज्यामीको रोटी खोसेर खाने तमासा गर्दैछन
हरेक दिन यो देश नयँ भासमा फस्दैछ
नाक न मुख भएको सत्ता के हेरी बस्दैछ ।।१
गति नै बन्द गरे के होला चन्द्र र सूर्यले
मति नै बन्द गरे के होला मानव मूर्तिले ?
संसारै फेर्छु भनेर हिड्ने सत्ताका मालिक
बाँधेर आफ्नै आमाका हात गर्दैछन् रमिता ।।२
सत्ताका प्यासी भोगी विलासी सास्तिमा नपार
तमासा गरी ज्यालामा ज्युने जनता नमार ।
बन्दले न त शान्ति नै हुन्छ न हुन्छ विकास
देशले न त फड्को नै मार्छ न मिल्छ निकास ।।३
पैँसा
पैँसाले सुख पाइने यदि भए किन्थे धनीले सबै
पैँसाले दुख नासिने यदि भए छिन्थे अरूले सबै ।
पैँसा साधन मात्र हो जगतको यो साध्य बन्दैन नि
पैँसाले मति मार्छ केवल अरू सन्तोष थप्दैन नि ।१
मान्छे, मानव बन्नबाट अछुतो पार्ने यहिँ द्रव्य हो
पैँसा द्योतक हो मनुष्यवृतिको कङ्गाल या सभ्यको ।
मान्छे चिन्न सकिन्छ मात्र धनले राम्रो नराम्रो पल
मान्छे किन्न सकिन्न या त यसले एक्ल्याउँछ केवल ।२
बाआमा, परिवारको न ममता पाइन्छ या साथ नै
पैँसाले सिंह झैँ बनाउँछ बरू पाषाण स्वभाव कै ।
पैँसाकै बलमा पलाउँछ यहाँ उन्माद पाखण्ड नि
तानाशाह समेत फल्छ धनमै निम्तिन्छ या अन्त्य नि ।३
सच्चा मानव बन्नु नै छ जिँउदा त्यागेर कोरा सुख
पैँसा जीवन हैन ए ! सहृदयी बेकार के को दुख ।
फेर्नै पर्छ हरेकले समय मै आफ्नो इरादा अब
छोटो जीवन मार्गमा सुख दिने सत्कर्म हो वैभव ।४
नाम ईश्वर जोशी
ठेगाना पुर्चौँडी न पा ७ बैतडी
लोक गीत विनिर्माण
आमा रुँदै गाउँवेसी मेलैमा
छोरो रुँदै विदेशी जेलैमा (मृत्यु कुर्दै..विदेशी
छिट्टै धनी बन्ने मिठा देखेर सपना
घरबारी धितो राखी छोरो भो रमाना
आमा..............
दशैँ आयो, तिहार आयो, छोरो फर्किएन
बाटो हेर्ने बाआमाको आसा घर्किएन ।
आमा............
मरुभूमिमा फूल रोप्यौ आफ्नो बारी बाँझै
स्वदेशमा फर्किएर आउँदैनौ र साँच्चै ।
आमा................
घाम पानी नभनेर बगायौ पसिना
आँखिरीमा के कमायौ सहेर असिना ।
आमा...........
दुईतिरका छिमेकीले हाम्रै बारी च्याप्छन्
बोल्ने छोरो बिदेसिँदा जानी जानी हेप्छन् ।
आउ है छोरा स्वदेश फर्केर
बुढा बुवा आमालाई सम्झेर
विनिर्माणकर्ता : ईश्वर जोशी
भ्रम र सत्य (कविता)
हृदय भित्र छामेर हेर मलाई नसोध ।
ईश्वरसित आत्मीय नाता नलाई नसोध
मूर्तिको सामु मन्दिर दीप जलाई नसोध
आत्माको पुष्प कुल्चेर बोटै ढलाई नसोध ।१
इन्द्रियरूपी वसमा घोडा नराखी नसोध
ईश्वर कुल्ची पूज्दैछु भन्छौ हे शिशु अवोध
परमात्माको अंश हौ तिमी ज्ञानको सागर
भड्कन्छौ किन बाहिर हरे !बोकेर गागर ।२
प्रेमको घडा भित्र छ तिम्रै खोलेर हेर न
सभ्यता, कला, शान्ति छ भित्रै बोलेर हेर न
संघर्ष जति भित्र छ तिम्ले मोलेर हेर न
काम र क्रोध लोभ र मोह पोलेर हेर न ।३
ढुङ्गाको थोत्रो मन्दिर खोज्दै भेट्छौ र ईश्वर ?
जीवन भरी मूर्ति मै तृष्णा मेट्छौ र इश्वर ?
भेटिन्नन् अहँ मन्दिर भित्र द्यौताका बथान
बनेर अन्धो गर्दछौ कति जडको बयान ।४
आफैमा छ हे आकारहीन आत्माको आसन
ज्ञानको ढोका खोलेर बरु मुसुक्क हाँस न
सुकर्म गरे पर्दैन माग्नु क्षमा र याचना
आत्मामा जब थाल्दछ फल्न पवित्र चाहना ।५
कवि : ईश्वर जोशी
बैतडी
कविताको परिचय
साहित्यको जेठो विधाको रुपमा रहेको कविताले जीवनकाअनुभूतिलाई सशक्त रुपमा अभिब्यक्त गर्ने सामर्थ्य राख्दछ । यसलाई ललितकला अन्तर्गतको बिधाका रुपमा लिइन्छ । यो साहित्यको पद्य विधा हो । यसलाई कवि कर्मका रूपमा पनि लिइन्छ ।
कविताका विधागत विशेषताहरु
विशिष्ट भाषिक अभिव्यक्ति भएको पद्य विधा
सांगीतिक तथा सरल भाषिक अभिव्यक्ति
कलाको सिर्जना गरिएको विधा
सूत्रात्मक कथनमा अभिव्यक्त हुने विधा
कवितामा भाव पक्ष प्रबल रहने
कविताका तत्वहरु
भावविधान
लयविधान
रस
अलंकार
उद्देश्य
शैली शिल्प
Please don't forget to give your valuable suggestions.