शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७९
चिन्ता, डर तथा दिक्दारीपनाको समस्या पहिचान र व्यवस्थापन
सत्र: पहिलो
समयः १ घण्टा ३० मिनेट
सामान्यतया बालबालिकाहरूमा डराउने चिन्ता लिने, आत्तिने जस्ता समस्याहरू देखिन्छन् । कहिलेकाहीं डराउनु तथा आत्तिनु स्वभाविक हो । यस्तो समस्या कहिलेकाहीं धेरैजसो बालबालिकाहरूमा देखिन सक्छ। तर डर र चिन्ताजन्य समस्याले बालबालिकाहरूको दैनिक बानी व्यवहार एवम् सिकाइ क्रियाकलाप तथा सिकाइ उपलब्धिमा नै असर पुग्न थाल्यो भने चाहिँ समस्या हो भनेर बुझ्नुपर्दछ । बालबालिका तथा किशोरकिशोरीहरूमा उदासिनता वा दिक्दारीपनाको समस्याहरू पनि देखिन सक्छन् । यस्तो समस्यामा बालबालिका तथा किशोरकिशोरीहरूमा धेरैजसो समय मन खिन्न वा दुःखी हुने, केही कुरामा पनि रमाउन वा आनन्द लिन नसक्ने समस्याहरू देखिन सक्छन् । यस्तो समस्यामा बालबालिकाहरूको मनस्थितिमा छिटो छिटो उतारचढाव हुने र त्यहीअनुसार व्यवहारमा परिवर्तन देखिन सक्छ जस्तैः विनाकारण एकदम खुसी हुने, तुरुन्तै एकदम दुःखी हुने, रिसाउने, झर्कने, एक्लै टोलाएर बस्ने जस्ता व्यवहारहरू पनि देखिन सक्छन् । यस्ता खालका बानी व्यवहारहरू दुई हप्ताभन्दा बढी समयसम्म देखिएमा उदासिनताको समस्या भएको शङ्का गर्न सकिन्छ ।
चिन्ता तथा दिक्दारीपनाको समस्यालाई भावनात्मक समस्याअन्तर्गत राख्ने गरिन्छ । यस्ता समस्याहरूको व्यवस्थापनमा कक्षाकोठाभित्र गरिने मनोसामाजिक प्रवर्धनात्मक क्रियाकलापहरू, अभिभावक मनोशिक्षा र विद्यार्थी मनोसामाजिक परामर्शलाई उपयोगी मानिन्छ । यस सत्रमा विद्यार्थीहरूमा देखिने चिन्ता, डर तथा दिक्दारीपनाको समस्या पहिचान र व्यवस्थापनका उपायहरूका बारेमा छलफल गरिने छ ।
उद्देश्य
यस सत्रको अन्त्यमा सहभागीहरू देहायका कार्यहरू गर्न सक्षम हुने छन् :
१. विद्यार्थीहरूमा देखिने चिन्ता, डर र दिक्दारीपनाको समस्याको पहिचान गर्न र
२. विद्यार्थीहरूमा हुने चिन्ता, डर र दिक्दारीपनाको समस्याको व्यवस्थापनका उपायहरू पहिल्याउन ।
सामग्री
न्युजप्रिन्ट पेपर, मार्कर, पावरपोइन्ट स्लाइडहरू, मास्किङ टेप, घटना अध्ययन आदि ।
मुख्य विषयवस्तु
विद्यार्थीहरूमा देखिने चिन्ता, डर र दिक्दारीपनाको समस्याको पहिचान
विद्यार्थीहरूमा हुने चिन्ता, डर र दिक्दारीपनाको समस्याको व्यवस्थापनका उपायहरू
क्रियाकलाप सहजीकरण प्रक्रिया
Relaxation Exercise: रङ्गीन श्वासप्रश्वासको अभ्यास (Color Breathing)
सहभागीहरूलाई मेरूदण्ड सिधा हुने गरी सजिलोसँग बस्न भन्ने ।
आँखा बन्द गर्न भन्ने । आँखा बन्द गर्न गाह्रो लाग्नेलाई अगाडिको कुनै वस्तुमा आखालाई केन्द्रित गर्न भन्ने ।
नाकबाट सास लिएर मुखबाट फाल्न भन्ने ।
सास लिँदा सुनौलो रङ साससँग मिसिएर शरीरभरि फैलिएको अनुभव गर्न लगाउने र शरीर पनि सजिलो भएको पनि महसुस गर्न लगाउने ।
सास बाहिर फाल्दा तातो हावा सँगसँगै खैरो रङ र तनाव, पिर, चिन्ता बाहिर गएको अनुभव गर्न लगाउने।
यो अभ्यास ५ देखि १० पटक गराउने ।
त्यसपछि यो अभ्यासको महत्त्वको बारेमा प्रस्ट पार्ने ।
क्रियाकलाप १ घटना अध्ययन
(३० मिनेट)
सहभागीहरूलाई चार समूहमा विभाजन गर्ने पहिलो र दोस्रो समूहलाई घटना अध्ययन १ प्रदान गरी अध्ययन गर्न लगाउने साथै तेस्रो र चौथो समूहलाई घटना अध्ययन २ प्रदान गरी अध्ययन गर्न लगाउने । उक्त घटनाको अध्ययन गरी तल दिइएका प्रश्नहरूको उत्तर तयार गर्न भन्ने ।
घटना अध्ययन १
बिनिता कक्षा ७ मा पढने छात्रा हुन् । उनी गृहकार्य पनि गर्छिन् तर उनको गृहकार्य अक्सर मिलेको भने हुँदैन। उनी केही विषयमा पास पनि हुन्छिन् तर धेरै विषयहरूमा चाहिँ उत्तीर्णको नजिक नजिक पुगेकी हुन्छिन् तर उत्तीर्ण भने हुन सकिरहेकी हुन्नन् । उनी कक्षामा शिक्षकलाई प्रश्न सोध्न डराउँछिन् । उनी आफूले जानेकै कुरा पनि कक्षामा अरू साथीहरूको अगाडि भन्न डराउँछिन । उनलाई शिक्षकले पढाइरहेको बेलामा जानेको जस्तो पनि लाग्छ तर उनी तुरुन्तै बिर्सन्छिन्। उनी आफूले जानेकै कुरा गर्दा पनि हडबडाउने गर्छिन् । उनी हिजोआज साथीहरूसँग नमिल्ने, सानो सानो कुरामा पनि रिसाउने गर्छिन् । मनमा धेरै कुरा खेलाउँछिन् । बाबुआमाको भनाइअनुसार राती निन्द्रामा तर्सिन्छिन्। मस्तसँग निदाउन पनि सक्दिनन् । घरमा बाबुआमाले पढाइमा प्रगति गर्न नसकेकामा गाली गर्ने गर्छन् भने शिक्षकले पनि साथीहरूको अगाडि गिज्याउने होच्याउने गर्छन् ।
घटना अध्ययन २
रीता कक्षा ६ मा पढ्ने बालिका हुन् । उनी १२ वर्षकी भइन् । पहिले पहिले उनी निक्कै सक्रिय र जिज्ञासु थिइन् । उनी पढाइमा पनि टाठी थिइन् भने साथीहरूसँग खेल्ने अनि | नजानेका कुरा सर मिसहरूलाई सोध्ने उनको बानी पनि थियो । उनका बाबुआमाको भनाइअनुसार सधै बाबुआमालाई सघाउने र मिठो बोल्ने उनी विगत १ महिनादेखि घरको काम तथा पढाइ कुनै कुरामा पनि जाँगर गर्दिनन् । नयाँ मान्छेहरूसँग नजिकै पर्दिनन् । कसैसँग पनि कुरा गर्न मन गर्दिनन् । सोधेको कुराको छोटो जवाफ मात्रै | दिन्छिन् । विद्यालयमा सर मिसहरूको भनाइअनुसार पनि विगत केही समय यता उनी साथीहरूसँग घुलमिल हुन चाँहदिनन् । कक्षाकोठामा पनि सिकाइ क्रियाकलापमा सक्रियतापूर्वक भाग लिन्नन् । कक्षामा पनि उनलाई कता कता हराइरहेको वा मनमा केही कुरा सोचेर बसिरहेको जस्तो देखिन्छ । १ बजेको खाजा छुट्टीमा पनि कक्षामा नै बसिरहन्छिन् । किन यसो भएको हो भनेर प्रश्न गर्दा केही नभनेर पिल्ल गर्दै रुन्छिन् मात्र । उनको परिवारले भनेअनुसार उनको बानीमा हिजो आज परिवर्तन आएको छ । साथै हिजो आज उनको निद्रामा पनि गडबडी छ र एक्लै सोचेर ओछ्यानमा बसिरहेकी हुन्छिन् । घरमा पनि उनी घण्टौ कोठाभित्र बस्छिन् । उनले एकपटक विष सेवन गरेर आत्महत्याको प्रयास पनि गरिसकेकी छन् । आमाबाहेक उनी कसैसँग पनि कुरा गर्न चाहँदिनन् । रमाइलो र साथी भनेपछि हुरुक्क हुने मान्छे हिजोआज साथीका कुरा गर्यो कि उनी नरमाइलो मान्छिन् ।
प्रत्रहरू
पहिलो घटना अध्ययनमा दिइएको समस्या कस्तो समस्या हो जस्तो लाग्छ ?
दोस्रो घटना अध्ययनमा दिइएको कस्तो समस्या हो जस्तो लाग्छ ?
त्यही समस्या हो भन्नको लागि कुन कुन आधार वा लक्षणहरू पाउनुभयो ?
आफ्नो समूहमा छलफल गरी समूहगत प्रस्तुतीकरण तयार गरी प्रस्तुत गर्न लगाउने । समूहगत रूपमा भएको प्रस्तुतीकरणपश्चात् घटनागत रूपमा छलफल गराउने । सहभागीहरूको बुझाइको आधारमा बालबालिकाहरूमा हुन सक्ने चिन्ता डर तथा दिक्दारीपनाको समस्याका लक्षणहरू तथा कारणहरूको बारेमा पावरपोइन्ट प्रस्तुतीकरणको माध्यमबाट स्पष्ट पार्ने ।
क्रियाकलाप २: छलफल
(२० मिनेट)
बालबालिका तथा किशोरकिशोरीहरूमा हुन सक्ने चिन्ता, डर र दिक्दारीपनाको समस्यालाई विद्यालयमा कसरी व्यवस्थापन गर्न सकिन्छ सो विषयमा सहभागीहरूको विचार तथा विद्यमान अभ्यासको विषयमा छलफल गर्ने ।
सहभागीहरूको अनुभवहरू तथा बुझाइलाई समेटेर सहजकर्ताले चिन्ता, डर र दिक्दारीपनाको समस्याको व्यवस्थापनमा विद्यार्थी मनोसामाजिक परामर्शलगायतका उपायहरूको बारेमा छोटो व्याख्यासहित स्पष्ट पार्ने ।
क्रियाकलाप ३: बालजीवन वृक्षको अभ्यास
(३५ मिनेट)
सहभागीहरूलाई आआफ्नो ठाउँमा सजिलो हुने गरी मेरूदण्ड सिधा गरेर बस्न लगाउने ।
कम्तिमा ५ पटक गहिरो गहिरो श्वासप्रश्वासको अभ्यास गर्न भन्ने ।
विस्तारै आँखा बन्द गर्न भन्ने । आँखा बन्द गर्न गाह्रो हुने सहभागीलाई आफ्नो अगाडिको कुनै एउटा वस्तुमा स्थिर भएर हेर्न भन्ने ।
अब सहभागीहरूलाई १६ वर्षको उमेरसम्ममा उनीहरूले अनुभव गरेका कुनै ५ ओटा रमाइलाहरू क्षणहरू सम्झन भन्ने । त्यसपछि त्यो उमेरमा उनीहरूसँग भएको सिप तथा क्षमता सम्झन लगाउने। उनीहरूका प्रेरणाका स्रोत तथा उनीहरूलाई माया गर्ने मान्छेहरू याद गर्न भन्ने अनि उनीहरूले उक्त उमेरमा प्राप्त गरेका सफलताहरू समेत सम्झन भन्ने ।
पुनः ५ पटक गहिरो श्वासप्रश्वासको अभ्यास गर्न लगाई आँखा खोल्न भन्ने ।
त्यसपछि सहभागीहरूलाई रुखको स्वरूपको चित्र दिने । उक्त रुखको जरा, काण्ड, हाँगाबिंगा तथा फलमा निम्न क्रियाकलाप लेख भन्ने ।
जराको भागमा ५ ओटा रमाइला तथा याद आइरहने वा सम्झन मन लागिरहने क्षणहरू
काण्डको भागमा सिप तथा क्षमताहरू
हाँगाबिंगामा माया गर्ने मान्छे तथा प्रेरणाका स्रोतहरू
फलमा उपलब्धि तथा सफलताहरू
यसरी रुखको चित्रको सहायताबाट जराको भागमा ५ ओटा रमाइला तथा याद आइरहने र सम्झन मन लागिरहने क्षणहरू, काण्डको भागमा सिप तथा क्षमताहरू र फलमा उपलब्धि तथा सफलताहरू भर्न लगाइसकेपछि त्यस बारेमा छलफल गर्ने । सहभागीहरूमध्ये कुनै ३ जनालाई आफ्नो अनुभव भन्ने अवसर दिने । उनीहरूलाई त्यो अभ्यास कस्तो लाग्यो सोध्ने । अनि छलफल गर्दै यो अभ्यासको फाइदा बताउने । बालबालिकाहरूको चिन्ता, डर तथा उदासिपनाको समस्याको समाधानमा कक्षाकोठामा मनोसामाजिक क्रियाकलाप तथा मनोपरामर्श सत्रमा पनि यस्ता क्रियाकलापहरू प्रयोग गर्न सकिने कुरा प्रष्ट पार्ने ।
त्यसैगरी चिन्ता र दिक्दारीपनाको समस्याको व्यवस्थापनमा मनोपरामर्श गर्दा ध्यान दिनुपर्ने कुराहरू, मनोपरामर्श सत्रमा प्रयोग गर्न सकिने कुराहरू, साथीको राम्रो कुरा, मेरो हिरो किताब जस्ता क्रियाकलापहरूको छोटो प्रयोग विधिहरूको बारेमा पनि व्याख्या गरिदिने । यस्ता समस्याहरूको व्यवस्थापनमा अभिभावक मनोशिक्षाको आवश्यकता र मनोशिक्षा दिने प्रक्रियाको बारेमा पनि बताइदिने ।
क्रियाकलाप ४: प्रतिबिम्बन
तलका प्रश्नहरू सोधी प्रतिविम्बन गराउने ।
(५ मिनेट)
बालबालिका तथा किशोरकिशोरीहरूमा देखिन सक्ने चिन्ता डर तथा दिक्दारीपनाको समस्यामा मनोपरामर्श गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्दो रहेछ ?
के तपाईंको विद्यालयमा बालबालिका तथा किशोरकिशोरीहरूमा देखिन सक्ने चिन्ता, डर तथा दिक्दारीपनाको समस्या पहिचान गर्न सक्नुहुन्छ ?
यस्ता समस्याहरूको व्यवस्थापनमा कक्षाकोठामा के कस्ता मनोसामाजिक प्रवर्धनात्मक क्रियाकलापहरू गर्न सकिन्छ होला ?
Please don't forget to give your valuable suggestions.