गाउँमा एक किसान बस्थे । किसान बूढो भइसकेको थिए, तर उनकी श्रीमती जवान र ऊर्जावान थिइन्। श्रीमतीको नजर सधैं अन्य वलिष्ठ पुरुषहरूमा थियो। एक दिन, एक ठगले महिलालाई एक्लै घरबाट निस्किएको देख्यो र उनको पछि लाग्यो।
जब ती महिला एकान्त ठाउँमा पुगिन्, ठगले उनको नजिक आयो र भन्यो, "मेरी श्रीमती बितिन् र म तिमीलाई मन पराउँछु। तिमी मसँग जान सक्छ्याै ?" महिलाले जवाफ दिइन्, “यदि त्यसो हो भने, मेरो श्रीमान् बूढो भइसकेका छन् र हिड्न सक्ने अवस्थामा छैनन् । उहाँसँग धेरै पैसा छ। म त्यो पैसा ल्याएर जान्छु ताकि हाम्रो सुखी भविष्य होस्।"
ठगले भन्यो, "ठीक छ, भोलि बिहान यही ठाउँमा भेटौँ, त्यसपछि सँगै निस्कौँला।"
ती महिला घर फर्किन् र आफ्नो पति सुत्ने प्रतीक्षा गरिन् । जब उनी सुते, उनले सबै पैसा र गरगहना एक पोकाेमा राखेर भोलिपल्ट बिहान ठगलाई भेटेको ठाउँमा पुगिन्।
दुवैले त्यहीँबाट यात्रा सुरु गरे । गाउँबाट धेरै टाढा हिँडेर गहिरो खोलाको किनारमा पुगे । ठगले मनमनै सोच्यो, "यदि मैले यसलाई घरमा लगे भने, मानिसहरू मेरो पछि खोज्दै आउनेछन् र म समस्यामा पर्नेछु। "म पैसा लिएर यहीँबाट छुटकारा पाउनु राम्रो हुन्छ।"
उसले महिलालाई भन्यो, "नदी धेरै गहिरो छ। म तिमी र सामानसँगै बोक्न सक्दिन। म पहिले सामान बोकेर पार गर्छु, त्यसपछि म तिमीलाई मेरो पिठ्युमा बोक्नेछु।"
महिलाले उनको अनुरोधमा सहमत भइन् र उनलाई पैसाको पाेकाे दिइन्। ठगले भने, "मलाई तिम्रो गहना र गह्रौं लुगाहरू पनि देऊ ताकि दोस्रो पटक नदी तर्न सजिलो होस्।"
महिलाले ठगले भने जस्तै गरिन् । ठगले सबै सामान लुट्यो । ठगले सबै सामान लिएर नदी पार गर्यो र फर्केर आएन।
उनको गलत कार्यको कारण, महिलासित केहि पनि बाँकी रहेन ।
सन्देश : स्वार्थको लागि कहिल्यै गलत बाटाे अपनाउनु हुँदैन।
अनुवादक : ईश्वर जाेशी
( हिन्दी साहित्यबाट अनुबाद )
Please don't forget to give your valuable suggestions.