प्रवास एक पीडा अनेक

0




 प्रवास एक पीडा अनेक

प्रवास



 मिठा रहर बोके पनि हुन्छ उठिबास

सोचे जस्तो कहाँ छ सजिलो  प्रवास ?


सामान्यतया आफ्नाे देशदेखि परकाे देशलाई परदेश भनिन्छ । अधिकांश नेपाली नागरिकका लागि प्रवास रहर कम बाध्यता बढी रहेकाे परिदृश्य हाम्रै परिपरि देखिन्छ । मलाई परदेशकाे धेरै अनुभव त छैन तर थाेरै पनि मेराे स्वाभिमानकाे वलत्कारका लागि प्रसस्त छ ।  रहरले विदेश जानेमा उच्च शिक्षा हासिल गर्न जाने, भ्रमणमा जाने  उच्च आर्थिक हैसियत भएका परिवारका नागरिकहरु पर्दछन् भने बाध्यताले परदेश जानेमा निम्न आय भएका वा स्वदेशमा जीविकोपार्जन गर्न मुस्किल परेका आम नागरिकहरु पर्दछन् भन्ने मेराे बुझाइ छ । म त्यही निम्न वर्गीय परिवारमा हुर्केकाे मानिस त्यसैले १६ वर्षको उमेरमा कामदारका रुपमा बाध्यताकाे डाेरीमा बेरिएर म भारतकाे दिल्ली पुगेकाे थिएँ । त्यहाँकाे रमझमले तान्नु भन्दा पनि कामदारप्रति गरिने व्यवहारले मेराे मन कुडिँयाे । म त्यसैबेला देखि कामदारका रुपमा कहिल्यै प्रवास नफर्कने कसम खाएर स्वदेश फर्केँ । त्याे सानाे अनुभव आज पनि परदेशकाे मुख हेर्न नजाने कारण बनेकाे छ । 

देशबाहिर रहनु प्रवास भए पनि भारत जानेहरु आफूलाई परदेशी भन्न रुचाउँछन् भने अन्य मुलुक जानेहरु त्यसै शब्दलाई विदेशका रुपमा लिने गर्छन् । परदेश वा विदेश जे भनेपनि वास्तवमा कुराे उही हाे । एउटा तप्काकाे मानिस युराेपमा गएर चर्पी सफा गर्ने काममा मग्न रहने तर उहीँ मानिस घरमा वा स्वदेशमा बस्दा  दिसा गरेर पखाल्न समेत जाँगर गर्दैन । अर्को तप्काकाे मानिस जाे आफ्नाे देशमा चर्पी सफा गर्नेसम्मकाे काम समेत नपाएर परदेश हानिन्छ । त्यसकारण परदेश रहर या करले गएपनि सुखद भने पक्कै छैन् । याे अनुभव मैले राेजगारकाे सिलसिलामा एक महिने भारतकाे दिल्ली बसाइबाट प्राप्त गरेँ ।                                                           


 परदेशप्रतिकाे धारणा परिवर्तन 


जेठकाे महिना ४५ डिग्री तापक्रम खप्न नसकेर नयाँ दिल्ली गएकाे दुई साता नबित्दै झाडा पखालाकाे सिकार बनेँ । काम गर्न नसकेपछि काम गरेकाे ठाउँबाट पनि निकालिदियाे । खल्ती पनि रिताे मन तिताे भएपछि घर फर्कनुकाे बिकल्प मसित रहेन । काम गर्न नसक्नेले किन काम गर्न आट्नु पर्याे जस्ता यावत कुरा र केही हेपाहा तथा चाेट पर्ने शब्द मेरा कानले सुनेपछि त्यहीँ बसिरहने ऊर्जा मरेर गयाे । धेरै नेपालीहरु कठिन अवस्थामा नि हात जाेडेर प्रवासमा बसेकाे कुरा महसुस हुँदा मन  अमिलाे भयाे । त्यसपछि म साथीहरूसित ऋण मागेर कहिल्यै परदेश नफर्कने गरी स्वदेश फर्के । यहीँ घटनाबाट मेराे परदेशप्रतिकाे धारणा परिवर्तन भयाे । परदेशमा मानवता र प्रेम भन्दा पनि कामदारलाई मेसिनका आँखाले हेरिदाे रहेछ । जुन दिनसम्म मेसिन चल्छ चलाउने बन्द भएकाे दिन फालिदिने । याे बुझेपछि म देशमै बसेर केही गर्न सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ अघि बढ्न थाले । मलाई त्यसपछि उच्च  शिक्षा हासिल गर्ने भाेक जागेर आयाे । मेराे एउटै चाहाना थियाे पढेर एउटा इमान्दार र स्वाभिमानी शिक्षक बनेर अर्काे पुस्तालाई यसै देशमा बसेर सङ्घर्ष गर्न सिकाउने । त्यही साेचले म आज नेपालमै विद्यालय शिक्षक बनेर विदेशप्रतिकाे विद्यार्थीको धारणा परिवर्तन गर्ने अभियानमा अमूल्य समय व्यतीत गर्दै छु । 


समाजिक सञ्जालमा राखेका हसिला र रंगीन तस्वीरले बिदेश जान रहर गर्नेहरु


आजभोलि  बढ्दो सामाजिक संजालहरुको  प्रयोगसँगै सुन्दर भविष्यको परिकल्पना गर्दै अधिकांश मानिसहरु परदेश भासिन्छन् । नगण्य नेपालीहरुले आफ्ना सपना  विदेस बसेर साकार गरेपनि अधिकांश मानिस त्यहाँबाट फर्कदा कि त रित्ताे र तिताे मन बाेकेर फर्कन्छन् कि त अङ्ग उतै गुमाएर या कडा राेगकाे भारी बाेकेर फर्कन्छन् । कतिकाे त प्राणसमेत जन्मभूमिमा फर्कन पाएन । निष्प्राण बनी फर्कनेहरुकाे लास राष्ट्र , समाज र सबैभन्दा बढी त बाटाे हेरेर बस्ने परिवारलाई सदाका लागि पीडा छाेडेर स्वदेशमा या विदेशमै पञ्ततत्वमा विलिन हुन्छन् । त्यसकारण सामाजिक संजालको प्रयोगमा सक्रिय भैरहेको भरमा अर्काकाे कुरा सुनेर या समाजिक सञ्जालमा उनीहरुका भित्र पीडा लुकाएर बनावटी हासाे हासेका रङ्गीन तस्वीर हेरेर भ्रमित भइ फजुलका मिठा सपना सजाएर विदेसिनु मुर्खता हाे । संजाल प्रयोग गर्दै गर्दा अमेरिका ,अष्ट्रेलिया ,जापान तथा युरोपेली मुलुकमा रहेका आफन्त साथीभाइहरुले फेसबुकमा राखेका तस्बिरहरुले हरेकलाई  विदेश जाने भुत जगाई दिन सक्छ । फेसबुकमा राखेका साथीहरूले समुन्द्री तटमा गएर ,मुस्कानका साथ हेप्पि फ्राइडे  भन्दै हालेका फोटाहरुमा भएको प्राकृतिक सौन्दर्यता र अनुहारमा देखिएको खुसिपनले हरेकभित्रको बैदेशिक यात्राको भुतलाई जगाइदिन सक्छ । त्यसकारण त्यो तस्बिरभित्रको सत्यता बुझेर बिदेश जाने निर्णय परिवर्तन गर्न जरुरी छ ।


सुन्दर सपना बुनेर  विदेसिनेहरुकाे अन्तरकथा


मानिसले भित्र पीडा लुकाएर नि बाहिर हाँसेकाे अभिनय गर्न जानेकाे छ र त आजसम्म ऊ तनावलाई दबाउन सक्षम बनेकाे छ । नत्र उहिल्यै पीडितहरुकाे समाज मानिसक राेगीकाे समाजमा परिणत भइसक्थ्याे । त्यसमा पनि प्रवासमा रहने अधिकांशका लागि याे नियम ध्रुवसत्य जस्तै हुन्छ । परदेशमा रहेर काम गर्नेहरुकाे दैनिकी उनीहरु बाहेक अरु कसैलाई थाहा हुदैन । उनीहरुका परिवारले सुन्ने वनावटी कुरा त परदेशीकाे पीडा लुकाउने अस्त्र मात्र हाे । एकातिर न्यून ज्याला तथा अधिक श्रम शाेषणकाे सिकार त अर्काेतिर मानसिक तनाव र दुर्व्यवहारकाे सिकार यस्ताे परिस्थितिमा रहेर काम गरे पनि घर परिवारलाई हाँसाे र खुसीमात्र सुनाउनु पर्ने विवसता उनीहरुकाे छ । त्यसकारण सुन्दर सपना बाेकेर देशकाे माटाे छाेड्नेहरुलाई मेराे एउटै आग्रह छ । चाडैं आफ्नाे देशमा पाइला माेड । रगत र पसिना यतै बगाउँला । देशकाे हितमा नसाेच्नेका लागि बरु  जहर बनाैला । तिताे मिठाे जे भए नि एक छाक हलुका मन गरेर खाउँला  र थाेत्राे लुगा लगाउँला । 


लहलहै र हतारकाे निर्णय 


अर्काकाे लहलहैमा लाग्दा अमेरिका भनेर उडेकाहरु मेक्सिको पुगे । कतार र साउदी अरव भनेर उडेकाहरु इराक र अफगानिस्तान पुगे । धेरै पैसा कमाइ हुने र जीवन सुखमय बन्ने  झुटा आश्वासन भरेर आफ्नैहरुले आफन्तकाे बेहाल बनाएका छन् । अर्काकाे बहकाउमा परेर प्रवास भासिदा जीवनबाट हात धुनेहरु पनि धेरै छन् । बिहेका लागि कन्या खाेजेर केही समय काम गर्न भनी मेरै साथी जगन्नाथ ( नाम परिवर्तन ) धन कमाउने आसा बाेकेर भारतकाे बैङ्लाेर पुगे तर त्यतै छुरावाजकाे फन्दामा परेर ज्यान गुमाए । उनका बाआामाकाे छाेराकाे बिहे गर्ने सपना त चकनाचुर भयाे नै बाआमाकाे बुढेसकालकाे साहारा पनि विदेशी भूमि मै बिलायाे । त्यस्तै लहलहैमा लागेर अमेरिका, युराेप, अष्ट्रेलिया, जापान, काेरिया र खाडीमा जाने अधिकांश नेपालीहरुकाे नियति पनि  याे भन्दा भिन्न छैन् । हतारमा मुखमा राखेकाे ताताे दुधले निले पनि पाेल्छ र थुके पनि पाेल्छ । हतारकाे विदेस जाने प्रवृत्ति पनि झण्डै यस्तै अवस्थासित निकट देखिन्छ ।  त्यसकारण परदेश जानू पूर्व वास्तिकता बुझेर लहलहैलाई चिर्न जरुरी छ भने जाने निर्णय गर्नु पूर्व गएकाहरुका अनुभव र  उनीहरुकाे भाेगाई एक पटक सुन्न र बुझ्न जरुरी हुन्छ । कुनै पनि निर्णय गर्दा त्यसकाे लाभ हानी र परिणाम तथा असरसम्मकाे बिचार गर्ने हाे भने विदेसिनेहरु आफ्नाे साेचाइ नै फेर्न बाध्य हुन्छन् ।                 


  अन्त्यमा           


प्रवास रहरले या वाध्यताले पसेपनि अधिकांशको लागि दुख र पीडाकाे कारण बन्न पुगेकाे छ । एकातिर युवा शक्ति विदेश पस्दा देशकाे विकासकाे गति राेकिएकाे छ भने अर्कातिर सामाजिक र पारिवारिक सुख शान्तिकाे वातावरण नै धरापमा परेकाे छ । विदेशी पैसामा जीवन साट्न सकिन्न किनकि जीवन अमूल्य छ । बैलेमा हरेक मुग्लानीले यसमा मनन गर्न जरुरी छ । देशलाई साच्चै सम्पन्न बनाउने हाे भने युवालाई देशमै राेजगार दिन सक्नु पर्छ । उनीहरुकाे सीप र जागर यसै देशका लागि उपयाेग गर्नुपर्छ ।  याे चेतनाका लागि देशका शासकका घैँटामा पनि चाडैं घाम लाग्न जरुरी छ । यसमा ढिलाइ गरेर देश र जनता सबैलाई डुब्नबाट जाेगाउनु आजकाे आवश्यकता हाे ।            ईश्वर जाेशी



Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)