ए बा ! स्वर्ग र नर्क कहाँ छ ? (गद्य कविता )

0

                                - कवि : ईश्वर दत्त जोशी






ए बा ! स्वर्ग र नर्क कहाँ छ ? (गद्य कविता )  

.......................

सानो छोरा आजभोलि सधैँ सोध्छ                                       

“ए बा !

स्वर्ग भनेको के हो ?”

म भन्छु

 “मरेपछि थाहा पाउँछस् ।”

 ऊ भन्छ,

“मलाई अहिले चाहिन्छ ।”

 मरेपछि स्वर्गको के काम ?१

एकाएक बदमासी गर्दा उसकी आमाले भन्छिन्

“ए छोरा ! बदमासी गरे नर्कमा परिन्छ ।”

ऊ बुरुक्क उफ्रँदै फेरि आउँछ

मेरो लुगाको छेउ तान्दै भन्छ

“ए बा !

नर्क भनेको के हो ?”

म भन्छु,

 “मरेपछि थाहा पाउँछस् ।”

ऊ भन्छ,

“मलाई अहिले चाहिन्छ ।”

मरेपछि नर्कको के काम ?२

 हुन त हो मरेपछि स्वर्ग न नर्क

तर मेरा पूर्वजले मलाई यहीँ दर्शन सिकाए

 अर्को दिन बिहानै छोरो जुरुक्क उठ्छ

मेरो कपाल तान्दै ओछ्यान मै भन्छ

 “ए बा !

उठ्नुस् स्वर्ग हेर्न जाऊँ,

हैन भने नर्क हेर्न जाऊँ,

 कस्तो रहेछ यो मलाई हेर्न मन लाग्यो ।”

 म हाँस्दै भन्छु,“हैन ए भगवान यसरी एकाबिहानै हेर्न जानलाई

चलेको नेपाली सिनेमा हो र ?”

 मेरो जवाफले ऊ मुस्कान छर्दै

आमाको पूजाकोठातिर दर्गुन खोज्छ ।३

                                                      ठेगाना पुर्चौँडी न पा ७ बैतडी

                                                       सम्पर्क ९८६८४५६३१३

                                                        ईमेल : ishworjoshi12@gmail.com 

Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)